
पोखरा स्पोर्टस । मित्रराष्ट्र चिनमा आयोजित अन्तर्राष्ट्रिय ड्रागन् बोट रेसमा उपाधि बिजेता नेपाली राष्ट्रिय टोलीलाई बुधबार उनीहरुले जितेको नगद पुरस्कार राशी प्रदान गरिएको छ ।
नेपाल ड्रागन बोट एसोसियसनले एक कार्यक्रमको आयोजना गरी खेलाडीहरुलाई पुरस्कार वापतको रकम प्रदान गरेको हो । नेपालको तर्फबाट प्रतियोगितामा सहभागिता जनाएका १५ जना खेलाडीहरुलाई जनही नगद रु ४० हजारका दरले खेलाडीहरुलाई पुरस्कार रकम प्रदान गरिएको छ ।
चिनको लुलाङ शहरमा गत जेठको अन्तिम साता सम्पन्न “लुलाङ चीन–नेपाल मैत्रिपुर्ण ड्र्यागन् बोट रेस”मा छुट्टा–छुट्टै चार वटा इभेन्टमा नेपाली राष्ट्रिय टोलीले क्लिन स्विप गर्दै उपाधि जितेको थियो ।
प्रतियोगिता अन्तर्गत भएको ड्रयागन् बोट रेस १०० मिटर, २०० मिटर, यार्क र्याफ्ट र प्याक र्याफ्ट गरी चार वटै इभेन्टमा नेपालले उपाधि जितेको थियो ।
उपाधि बिजेता खेलाडीहरुलाई बधाई सहित नगद पुरस्कार वितरण गर्दै पोखरा महानगर पालिकाका प्रमुख एवं नेपाल ड्रागन बोट संघका केन्द्रिय अध्यक्ष धनराज आचार्यले नेपाली राष्ट्रिय टोलीको प्रसंशा गर्दै नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रियस्तरमा नै उत्कृष्ट छाप छोड्न सफल भएको बताए ।
आगामी डिसेम्बरमा पोखरामा हुने अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हुने जानकारी गराउँदै प्रतियोगितामा नेपाली ८ टिम र विदेशी ८ टिम गरी कुल १६ टिमको सहभागिता हुने भएकोले सो अनुरुप तयारी थाल्न महानगर प्रमुख एवं संघका अध्यक्ष आचार्यले आग्रह गरे ।
कार्यक्रममा नेपाल चिन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेको समेतको सहभागिता रहेको थियो ।
