
पोखरा स्पोर्टस । यूकेको रेडिङमा आयोजना हुने सातौं सस्करणको ‘पिपल नेपाल टि–२० क्रिकेट कप २०२४’को तयारी पुरा भएको छ ।
पोखरेली मञ्च युकेको आयोजना तथा ग्रेटर रेडिङ नेपाली समाज युकेको सहआयोजनामा यहि जुन ३० देखि सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको हो । प्रतियोगिताको तयारी बारे जानकारी दिंदै पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुङ (केभ) ले प्रतियोगितामा नेपाली यूवाहरु सम्मिलित ९ टिमको सहभागिता हुने जानकारी दिए ।

विगत ६ वर्ष सम्म सफलता पूर्वक सम्पन्न भइसकेको प्रतियोगिताको सातौं संस्करण तीन दिन सञ्चालन हुनेछ । रेडिङ क्रिकेट क्लबको खेल मैदान सोनिङ लेनमा जुन ३० मा उद्घाटनसहित प्रतियोगिता सुरु हुनेछ भने जुलाई ३ र फाइनल स्पर्धा भने जुलाई ७ मा हुने अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगितामा हिमालयन क्रिकेट क्लब, क्वीन गोर्खा सिग्नल क्रिकेट क्लब, नेप्लिज वारियर क्रिकेट क्लब, माया क्रिकेट क्लब, रमाइलो क्रिकेट क्लब, नव युवा क्रिकेट क्लब, गोर्खा क्रिकेट क्लब केन्ट, गोर्खा टाइगर्स स्पोर्टस् क्लब र खुकुरी क्रिकेट क्लब प्रतिष्पर्धी छन् ।
प्रतियोगिताको तयारी र सन्दर्भ बारे जानकारी दिंदै अध्यक्ष गुरुङले नेपाली यूवाहरुलाई खेलकुदमार्फत सामाजिक अभियानमा डोर्याउन भूमिका खेल्ने बताए । उनले भने–“यो प्रतियोगिताका लागि प्रतियोगिता मात्रै होइन । हामीले नेपाली यूवाहरुलाई एक ठाउँमा भेला गराई भाइचारको सम्बन्ध कसिलो बनाउने संगै सामाजिक अभियानमा काँधमा काँध मिलाउन पनि यसले भूमिका खेल्नेछ ।”
नेपाली यूवाहरु माझ लोकप्रिय प्रतियोगिता मध्येको एकलाई मुख्य प्रायोजन पिपल मोर्गेजका प्रवन्ध निर्देशक सूर्य गुरुङले गरेका छन् भने पहिलो पुरस्कारको प्रायोजन माया सर्पोटिभ लिभिङ लिमिटेडका राज पाण्डेले गर्नेछन् । प्रतियोगिताको रनिङ शिल्ड पोखरेली मञ्च युकेका संस्थापक अध्यक्ष चन्द्र बहादुर पुन (सिबी) र उनकी बैनी सरिता पुनले आफ्नो आमा भद्रशिला पुनको सम्झनामा प्रायोजन गरेका छन् ।
प्रतियोगिताको उद्घाटन तथा समापन कार्यक्रमलाई ब्यवस्थित बनाइएको र मुख्य अतिथिसहित अन्य विशिष्ट अतिथिहरुको समेत टुङ्गो लागेको अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगिताको समापन अवसरमा कलाकारहरुले सांङ्गेतिक प्रस्तुती पस्किने उनले बताए ।
प्रतियोगितामा उपाधि बिजेता टिमले रनिङ्ग शिल्डसहित १ हजार ५ सय पाउण्ड, उपविजेता टिमले ८ सय पाउण्डका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ दि सिरिज, वेष्ट बलर र वेष्ट व्याटरले जनही नगद २ सय पाउण्डका साथमा ट्रफी पाउनेछन् ।

