
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले महिला लक्षित आत्मरक्षा तालिम संगै खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
उक्त कार्यक्रमहरु मध्ये आत्मरक्षा तालिम यहि असार १६ देखि १८ गते सम्म र खुल्ला महिला दौड असार १९ गते हुने कार्यक्रमकी संयोजक तारामायाँ थापा मगरले जानकारी दिएकी हुन् । आत्मरक्षा तालिम घरेलु र अधिकारकर्मीहरुलाई लक्षित गरिएको प्रदेश खेलकुदकी कार्यकारी सदस्य समेत रहेकी मगरले बताइन् ।
आत्मरक्षा तालिम परिषदले पहिलो पटक आयोजना गर्न लागेको बताउँदै संयोजक थापाले समाजमा घट्ने घरेलु हिंसा रोक्न र महिलाहरुमा आत्मबल बढाउन समेत महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले भनिन्–“हामीले यो कार्यक्रम पहिलो पटक आयोजना गर्दै छौं । आगामी वर्ष यो कार्यक्रमलाई प्रदेशका ११ वटै जिल्लामा प्रवाहित गर्नेछौं ।”
तीन दिन सम्म सञ्चालन हुने आत्मरक्षा तालिममा सेल्फ डिफेन्स एवं करातेकी प्रशिक्षक सन्जु महर्जनले दिने भएकी छन् भने उनी संगै हाप्कीडो गण्डकी प्रदेशकी मुख्य प्रशिक्षक कृती गिरीले समेत सहजिकरण गर्ने भएको संयोजक मगरले बताइन् ।
यसै गरी असार १९ गते हुने महिला अधिकारकर्मी खुल्ला १५०० मिटर खुल्ला दौड पोखरा रंगशालामा हुनेछ । महिला अधिकारकर्मी दौड भने गत वर्षबाट सुरु भएको हो । उक्त दौडमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमश नगद रु ५, ३, २ र १ हजारका साथमा मेडल तथा प्रमाणपत्र वितरण गरिने छ ।
