
पोखरा स्पोर्टस । अन्तर्राष्ट्रिय ओलम्पिक दिवश (ओलम्पिक डे) मनाउन पोखरामा स्क्वास प्रतिस्पर्धाको आयोजना गरिएको छ ।
ओलम्पिक डेको सन्दर्भलाई जोड्दै उक्त प्रतियोगिता कास्की जिल्ला स्कवास र्याकेट संघले आयोजना गरेको हो । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको एक कार्यक्रमका बीच पोखरा महानगर पालिकका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख हेम प्रसाद आचार्यले गरेका छन् ।
सो अवसरमा बोल्दै विभागिय प्रमुख आचार्यले अन्तर्राष्ट्रिय ओलम्पिक दिवशलाई जोड्दै प्रतियोगिता आयोजना गर्नु महत्वपूर्ण रहेको जनाउँदै पोखरा महानगर खेलकुद विकासका लागि प्रतिवद्ध रहेको जनाए । उनले भने–“म पनि स्वास्थ्यका लागि स्क्वास खेल्दै आएको छु । आगामी बजेटमा महानगरका तर्फबाट स्कवास खेलको विकास र खेलाडी उत्पादनका लागि मेरो सहयोग रहनेछ ।”
सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले ओलम्पिक डेको महत्व माथी प्रकाश पार्दै कास्कीको स्क्वासले प्रतियोगिता नै आयोजना गरी दिवश मनाउन गरिएको प्रयासले यूवा खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा बोल्दै कास्की स्क्वास र्याकेट्स संघका अध्यक्ष प्रविन पालिखेले सन २०२८ को ओलम्पिकमा नेपाली खेलाडी पुर्याउने उद्धेश्यसहितको अभियानमा जोड्न कास्की स्क्वाश प्रतिवद्ध रहेको जनाए ।
कार्यक्रममा कास्की स्क्वाशका सचिव सन्तोष घिमिरेले समेत आफ्ना भनाई राखेका थिए । प्रतियोगितामा ७ महिला र ३१ पुरुष गरी ३८ जना खेलाडीहरुको सहभागिता रहेको छ ।
