
पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गरिने नीति अघि सारको छ ।
गण्डकी प्रदेश सभामा मंगलबार सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सो कुरा जनाएका हुन् । प्रदेश प्रमुख भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनेका छन्–“साहसिक, मनोरञ्जनात्मक, परम्परागत, वैकल्पिक खेलकुद प्रतियोगिता आयोजना गरी गण्डकी प्रदेशलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गरिनेछ ।”
यसै गरी प्रदेश सरकारले उच्च उचाइ खेल तालिम केन्द्र (High Altitude training center) को पूर्वाधार निर्माण कार्यको सुरुवात गरिने जनाएको छ । यो कार्यक्रम वार्षिक रुपमा प्रस्तुत गरिंदै आए पनि कुनै गती भने लिन सेकेको छैन । प्रदेश सरकारले मुस्ताङमा ५ वर्ष अघि सुरु गरेको हाइअल्टिच्यूड पूर्वाधार निर्माण कार्यको बजेट वर्षेनी फिर्ता हुँदै आएको छ ।
त्यसै गरी प्रदेशका विभिन्न शैक्षिक संस्था, समुदायस्तरबाट सञ्चालित खेलमैदान तथा रंगशालाको निर्माण तथा स्तरोन्नति गरिनेछ । “खेल्छ गण्डकी“ र “स्कुल टु ओलम्पिक“ कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा अघि बढेको छ ।
प्रदेशभित्रका ओलम्पियन खेलाडीको मासिक भत्ता, राष्ट्रिय खेलाडी, रेफ्री तथा प्रशिक्षकको वार्षिक आकस्मिक बीमा कार्यक्रमलाई निरन्तरता दिँदै अध्ययन छात्रवृत्ति तथा औषधि उपचारमा सहयोग कार्यक्रम अगाडि बढाइने नीति तथा कार्यक्रममा जनाइएको छ ।
