ऐतिहासिक लिगलिग कोटमा गण्डकी प्रदेशस्तरीय महिला कबड्डीको तयारी पुरा

पोखरा स्पोर्टस । गोरखाको ऐतिहासिक लिगलिग कोटमा गण्डकी प्रदेशस्तरीय महिला कबड्डी भोलीबाट सुरु हुने भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सञ्चालन हुने लागेको महिला कबड्डी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको व्यवस्थापनको जिम्मेवारीमा रहेको गोरखा जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

केही वर्ष यता लिगलिग कोटलाई खेलकुद मार्फत प्रवर्द्धन गर्न लिगलिग कोट दौड र लिगलिग कोट साइकल दौड आयोजना हुँदै आएकोमा यस पटक भने कबड्डी प्रतियोगिता आयोजना गर्न लागिएको प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले बताएका छन् । उनले भने–“लिगलिग कोटको आफ्नै महत्व छ । यो ऐतिहासिक र धार्मिकस्थल मात्रै नभई दौडेर राजा बन्ने प्रचलन जुन विषय खेलकुद संग जोडिएकोले पनि सदियौं देखिको यो महत्वलाई अझै उजागर गर्न परिषदले महिला कबड्डी प्रतियोगिता आयोजना गर्न लागेका हौं ।”

गोरखाको पालुङटार नगरपालिका वडा नं २ स्थित ऐतिहासिक तथा पर्यटकीय महत्व समेत बोकेको समुन्द्री सतहबाट करिब १,४३७ मिटर (४,७९० फिट) उचाईमा रहेको लिगलिग कोटमा हुने प्रतियोगिताले समग्र यस क्षेत्रको खेलकुद विकासका लागि नयाँ आयाम थपिने सदस्य सचिब शर्माले बताए । १९ औं एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले एतिहासिक काश्य पदक जित्न सफल भएकोले पनि महिला कबड्डीको खेलको विकासका लागि यो प्रतियोगिताले सहयोग पुग्ने उनी बताउँछन् । “यो प्रतियोगिताले लिगलिग कोटको प्रवर्द्धन गर्ने मात्रै छैन यो ऐतिहासिक भूमीबाट नेपाली खेलकुदले यूवा महिला खेलाडी जन्माउनेमा म विश्वस्त छु”,–उनले भने ।

दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाले सहभागिता जनाउन लागेको जिल्ला खेलकुद गोरखाका अध्यक्ष कृष्ण सिंह बस्नेत (शान्ता)ले पोखरा स्पोर्टसलाई जानकारी दिए । प्रतियोगितामा कास्की, गोरखा, नवलपुर, तनहुँ, लमजुङ, स्याङजा, पर्वत, बागलुङ र मुस्ताङको सहभागिता हुनेछ ।

प्रतियोगितामा उपाधि विजेता टिमले नगद ७५ हजार, उपविजेताले नगद ५० हजार र तेस्रो हुने दुई टिमले समान नगद रु ३०–३० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । परिषदले उक्त प्रतियोगिता सम्पन्न गर्न करिव १५ लाख खर्च हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close