
पोखरा स्पोर्टस । खेल्छ गण्डकी कार्यक्रम अन्तर्गत स्याङजाको पुतलीबजारमा सञ्चालित महिला क्रिकेट प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको व्यवस्थापनमा १० दिने प्रशिक्षण सम्पन्न भएको हो । प्रशिक्षणमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै पुतलीबजार नगरपालिकाकी उप–प्रमुख देबी अर्यालले राज्यले महिलाहरुलाई समान हकको अधिकार दिएको बताउँदै खेलकुद क्षेत्रमा महिला सहभागिता बढाउन यस प्रकारका प्रशिक्षण महत्वपूर्ण हुने बताइन् ।
प्रशिक्षणमा सहभागिता जनाएका खेलाडीहरुलाई बधाई दिंदै समाज रुपान्तरणको बाटोमा खेलकुदको विकास अझै अपरिहार्य रहेको बताइन् । खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा झण्डा फहराउन सक्ने गरी आफूलाई खेलमा समर्पित गर्न आग्रह गर्दै उनले् आगामी बजेटमा नगर पालिकाले खेलकुदमा बजेट बढाउन आफू प्रयासरत रहने बताइन् ।
कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य ऋषीराम गौतमले परिषद समग्र प्रदेशको खेलकुद विकासका लागि योजनावद्ध रुपमा अघि बढेको जनाउँदै खेल्छ गण्डकी कार्यक्रमले यूवा देखि अग्रज सम्मका उमेर समुहलाई समेट्दै समाजमा खेल संस्कृतीको विकासका लागि प्रतिवद्ध रहेको उल्लेख गरे ।
प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको समापन कार्यक्रममा संघका कोषाध्यक्ष दिवाकार थापा, प्रादेशिक क्रिकेट गण्डकीका मुख्य प्रशिक्षक रिजन प्रजुलगायतले प्रशिक्षणले यूवा महिला क्रिकेट खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको जनाउँदै आगामी वर्षमा समेत यस प्रकारका प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिन परिषदलाई आग्रह गरे ।
गत बैशाख २९ गतेबाट सञ्चालित उक्त प्रशिक्षणमा ६ जिल्लाका गरी ६० जनाले सहभागिता जनाएका थिए । उनीहरुलाई राष्ट्रिय यू–१९ क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत बहादुर टमटा र गण्डकीका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक रिजन प्रजु प्रशिक्षण दिएका थिए ।
