
पोखरा स्पोर्टस । टाइगर ग्रुप अफ पोखरा नेपालले चौथो टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको छ ।
उक्त प्रतियोगिताको आयोजक संस्थाले सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी आय–व्यय सार्वजनिक गरेको हो । गत माघ १ देखि ७ गते सम्म आयोजना भएको प्रतियोगिताबाट रु १ करोड २१ लाख ८८ हजार ८ सय ६१ रुपैयाँ आम्दानी तथा खर्चतर्फ रु १ करोड ३ लाख ५१ हजार ३ सय ९७ गरी कुल १८ लाख ३७ हजार ४ सय ६४रुपैयाँ बचत गरेको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् । यो चौथो टाइगरको आम्दनी विगत तीन संस्करणहरु भन्दा तेब्बर बढि हो । संस्थाले सार्वजनिक गरेको आम्दानी अनुमानित विवरण मात्रै हो ।
कुल आम्दानी मध्ये टिकट संकलनबाट रु २२ लाख २२ हजार २ सय २२ रुपैयाँ आम्दानी भएको संस्थाले जनाएको छ । त्यसै गरी स्वदेश तथा विदेश एवं संघ संस्थाहरुको सहयोगबाट रु ५४ लाख १४ हजार १३९, मुख्य प्रायोजकबाट रु १५ लाख, राष्ट्रिय खेलकुद परिषदबाट रु ४ लाख ९२ हजार ५ सय, प्रदेश खेलकुद परिषद गण्डकीबाट रु ५ लाख ७५ हजार र पोखरा महानगर पालिकाले रु ९ लाख ८५ हजार सहयोग गरेको छ भने थप १० लाख रुपैयाँ मुख्यमन्त्रीको कार्यालय गण्डकी प्रदेशले सहयोग गरेको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शर्माले बचत भएको रकम सामजिक विकास एवं खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भने–“टाइगर कपमार्फत भलिबल विकासमा सहयोग पुगेको छ भन्ने विश्वास लिएका छौं । यहाँहरुको सबैको सहयोगले प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न भूमिका खेलेको छ । म स्वदेश तथा विदेशबाट सहयोगी संस्था तथा मित्रहरुलाई पुनः एक पटक यहाँहरु मार्फत आभार व्यक्त गर्दछु ।”
पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा, नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुङलगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बाँनिया, टाइगर ग्रुपका सचिव डिवी नेपालीले समेत आफ्नो भनाई राखेका थिए ।
चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लबस्तरिय प्रतियोगितामा महिला र पुरुष गरी १२ टिमको सहभागिता रहेको थियो । लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा महिलातर्फ एक भारतीय र पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले सहभागिता जनाएका थिए । चौथो संस्करणको पुरुषतर्फको उपाधि टिपटप हेल्प नेपाल र महिलातर्फ शसस्त्र प्रहरीको एएिएफ कलबले जितेका थिए ।
