
पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० सम्पन्न भएको छ ।


पोखरा सभागृह हलमा भव्य समारोहकाबीच शुक्रबार आयोजना भएको अवार्ड कार्यक्रम अन्तरगत वर्ष खेलाडी पुरुषको उपाधि क्रिकेटका अर्जुन कुमालले जित्न सफल बने । यो विधाको मनोनयनमा कुमालसँगै टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका थिए ।
वर्ष खेलाडी महिला विधाको अवार्ड आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगरले हात पारिन् । यो विधामा सुस्मितासँगै आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही मनोनयनमा परेका थिए ।
वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्न सफल भए ।
१७ वर्ष मुनिका खेलाडीबीच प्रतिष्पर्धा भएको उदियमान खेलाडी विधाको अवार्ड व्याडमिन्टनकी दिलासा रानाको पोल्टामा परेको छ । राना सहित क्रिकेटकी ज्योत्सनिका मरासिनी र एथलेटिक्सका बादल कार्की यो विधाको मनोनयनमा परेका थिए ।
वर्ष उत्कृष्ट प्रशिक्षक विधामा भलिबलका रमेश केसी अब्बल बने । केसी सहित टेनिसका नीरज थापा र क्रिकेटका रिजन प्रजु मनोनयनमा परेका थिए । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरे । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस्तै यो वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई अर्पण गरिएको छ । मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो ।
वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड सहारा क्लब पोखरालाई प्रदान गरिएको छ । वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्ड रोहितराज पराजुलीलाई अर्पण गरियो । वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट पत्रकार तर्फका अवार्ड विजेताले नगद ३५ हजार रुपैयाँको साथमा अवार्ड प्राप्त गरे ।
यसैगरी ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तरराष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई विशेष (स्पेशल) अवार्डबाट सम्मान गरिएकोे छ ।
अवार्ड बिजेता तथा मनोनयनमा पर्न सफल सबैजनालाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, आर्थिक मामिला मन्त्री हरिबहादुर चुमान, गण्डकी प्रदेशका भौतिक, पूर्वाधार तथा यातयात मन्त्री राजिव गुरुङ, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सीता सुन्दास, गण्डकी प्रदेशका सांसद एवं पूर्व मन्त्री पञ्चराम गुरुङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा, राखेप बोर्ड सदस्य राजेश कुमार गुरुङ, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङलगायतले अवार्ड र मनोनयन ट्रफी सहितका पुरस्कार हस्तान्तरण गरें ।
अवार्ड वितरण गर्न रोहितराज पराजुलीको संयोजकत्वमा प्रतिभा छनोट समिति निर्माण गरिएको थियो । जसको सदस्यमा खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष एवं प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठक, मञ्चका पूर्व सल्लाहकार सुदर्शन रन्जित तथा मञ्चका सदस्यहरु विजय नेपाली, धन बहादुर गुरुङ सुमन र रिखिराम जिसी सदस्य रहेका थिए ।
यसैगरी उत्कृष्ट खेल पत्रकार छनोट समितिको संयोजकमा मञ्चका पूर्व अध्यक्ष विनोद लामिछाने रहेका थिए । यो समितिको सदस्यमा पत्रकार महासंघ गण्डकी प्रदेश महासचिव गोविन्द सुवेदी, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, पूर्व पुरस्कृत सागरराज तिमिल्सिना, मञ्चका सदस्य उमेश पुन सदस्य रहेका थिए । दुवै समितिको पदेन सदस्यमा मञ्चका अध्यक्ष दीननाथ बराल र महासचिव राजाराम पौडेल रहेका थिए ।
अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुतको प्रस्ततीमा दर्शकहरु रमाए । उनले आफ्ना चर्चिच गीत सुनाउदै माहोल रमणीय बनाउँदा दर्शकले नाँचेर साथ दिएका थिए । सपुतका अलावा गायक सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी, कौरा र झ्याउरे नृत्यले समेत अवार्ड कार्यक्रममा रौनकता थप्यो ।
अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहेको थियो भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गरेको थियो । पोखरा महानगरपालिकाको समन्वयमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदले सघाएको छ । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय रहेको थियो ।
