
पोखरा स्पोर्टस । १२औं राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा पुरुषतर्फ कास्कीका गंगा कुंवर र महिलातर्फ नेपाल पुलिसकी देबीकलाराईले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशाला आर्चरी केन्द्रमा भएको रिकर्ब मेन्स इन्डिभिजुअल ७० मिटर पुरुषतर्फको फाइनलमा कास्कीका गंगाले बाग्लुङका दुर्गा घर्तीलाई ७–५ अंकले पराजित गरी स्वर्ण पदक जितेका हुन् । बेष्ट अफ फाइभको निकै रोचक भिडन्तमा ५–५ अंकले बराबरी खेलेका दुबैजनाले अन्तिम सुट आउटमा भने गंगाले बाजी मार्दै दुर्गालाई रजत पदकमा सिमित बनाए ।
यस्तै महिलातर्फ नेपाल पुलिसकी देबीकलाले १९ औं एसियाडमा नेपालको प्रतिनिधित्व गरी सकेकी त्रिभुबन आर्मी क्लबकी ज्ञानु अवालेलाई ७–३ ले फाइनलमा स्तव्ध पार्दै स्वर्ण पदक जितिन् भने ज्ञानुले रजत पदकमा चित्त बुझाइन् ।
यता रिकर्ब मिक्स टिममा नेपाल पुलिस क्लबको जोडी तिलक पुन र देबीकला राईको जोडीले स्वर्ण पदक हात पार्दा त्रिभुवन आर्मी क्लबको रोशन नगरकोटी र ज्ञानु अवालेको जोडीले रजत पदक प्राप्त गरेको छ । फाइनल स्पर्धामा तिलक र देबीकलाको जोडीले रोशन र ज्ञानुलाई ६–४ ले पराजित गरेको थियो । त्यस्तै रिकर्ब मेन्स टिममा आर्मीले कास्कीलाई ६–२ ले हराउँदै स्वर्ण पदक जितेको छ भने कास्कीले रजत पदक जित्न सफल भयो ।
प्रतियोगिता अन्तर्गत नै सम्पन्न कम्पाउण्ड ५० मिटर मेन्स इन्डिभिजुअलमा एपिएफ क्लबका रमेश भट्टचनले स्वर्ण जितेका छन् । उनले कास्कीका खेम बहादुर क्षेत्रीलाई १ आंकले पछि पारे । रमेशले १४७ अंक बटुल्दा कास्कीका रजत पदक बिजेता खेमले १४६ अंक बटुलेका थिए । कम्पाउण्डमा मेन्स टिमको रोचक भिडन्तमा कास्की विरुद्ध १ अंकको अग्रतामा आर्मीले स्वर्ण पदक जितेको छ भने कास्की रजत पदकमा सिमित हुन पुग्यो । आर्मीले कुल २३८ अंकले अग्रता कायम गर्दा कास्की टिम २३७ अंक प्राप्त गरेको थियो ।
यसै गरी स्टाण्डर्ड ३० मिटर मेन्स इन्डिभिजुअलमा म्याग्दीका दिकपाल तिलिजाले पर्वतका यूवराज छन्त्यालाई ६–४ ले पछि पार्दै स्वर्ण पदक जिते भने महिलातर्फ आर्मीकी सरु तामाङले आर्मीकै शारदा विकलाई ६–४ ले हराउँदै स्वर्ण पदक जितिन् । स्टाण्डर्ड मेन्स टिममा आर्मीले स्वर्ण पदक र बागलुङले रजत पदक जितेको छ । फाइनलमा आर्मीले ६–४ ले बागलुङलाई पराजित गरेको थियो ।
बिजेता खेलाडी तथ टिमलाई नेपाल आर्चरी संघका अध्यक्ष दिपकराज गुरुङ, वरिष्ठ उपाध्यक्ष बसन्त थकाली, सचिब योगेन्द्र शेरचन, कास्की आर्चरीका संस्थापक अध्यक्ष हरिध्वज तुलाचन, अग्रज समाजसेवी मिन बहादुर शेरचनलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
नेपाल आर्चरी संघको आयोजना तथा राखेपको सहकार्यमा सम्पन्न प्रतियोगितामा तीन विभागिय टोलीसहित विभिन्न ११ जिल्लाका ६५ खेलाडीहरुको सहभागिता रहेको थियो ।
