
पोखरा स्पोर्टस । पोखरामा जारी १२ औं राष्ट्रिय आर्चरी च्याम्पियनसिप अन्तर्गत सेमीफाइनल समिकरण पुरा भएको छ ।
नेपाल आर्चरी संघको आयोजनामा जारी प्रतियोगितामा यूवा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएका छन् । एसियाली खेलमा सहभागि खेलाडीहरुलाई समेत पछि पार्दै बागलुङका दुर्गा घर्तीले रिकर्व मेन्स ओपन फाइनलमा स्थान बनाएका छन् । उनले सेमीफाइनलमा कास्कीका एसियाडमा सहभागि जनाइसकेका अशिम शेरचनलाई ६–४ ले पारजित गरे ।
फाइनलमा दुर्गाले कास्कीका गंगा कुंवरलाई चुनौती दिनेछन् । १९ औं एसियाली खेलकुदमा सहभागि रहेका नेपाल पुलिस क्लबका तिलक पुनलाई सेमीफाइनलमा कास्कीका गंगा कुंवरले ६–० अंकले पराजित गरे । प्रतियोगिताको दोस्रो दिन सम्पन्न भएको काश्य पदकको लागि भएको खेलमा अशिम शेरचनले तिलक पुनलाई ६–२ ले हराए । फाइनलमा पुग्ने दुबै खेलाडी गण्डकीका हुन् ।
यता रिकर्व महिला ओपनको सेमीफाइनलमा नेपाल पुलिसकी देवीकला राईले त्रिुभवन आर्मीकी मञ्जु बजगाईलाई ६–० अंकले हराइन् । मञ्जु १९ औं एसियाडकी खेलाडी समेत हुन् । देवीकलाले फाइनलमा ज्ञानु अवाले संग भिड्ने भएकी छन् । ज्ञानुले बाँककी तुलसी थापालाई ६–४ पराजित गरेकी थिइन् । यसै गरी सोही इभेन्टमा मञ्जुले तुलसीलाई ६–० ले हराउँदै काश्य पदक प्राप्त गरिन् ।
यता कम्पाउण्ड मेन्सतर्फ कास्कीका खेम बहादुर क्षेत्रीले विभागिय टोली नेपाल आर्मीका विकाश क्षेत्रीलाई १४१–१२४ अंकले पराजित गरी फाइनलमा प्रवेश गर्दा एपिएफ क्लबका रमेश भट्टराईले कास्कीका सुरेश गुरुङलाई १३९–१३४ अंकले पछि पार्दै उपाधि नजिक पुगे । त्यस्तै काश्य पदकका लागि भएको खेलमा आर्मीका विकाशले कास्कीका सुरेशलाई १३८–१३६ ले पराजित गरेका छन् ।
स्टाण्डर्ड मेन्स इन्डिभिजुतर्फ म्याग्दीका दिक्पाल तिलिजाले बागलुङका ओम बहादुर गुरुङलाई ७–५ ले पराजित गरी फाइनलमा स्थान पक्का गरेका छन् । उनले फाइनलमा पर्वतका यूवराज छन्त्याल संग प्रतिस्पर्धा गर्नेछन् । यूवराजले बागलुङका पोकेन्द्र रोकालाई ६–४ ले हराएका थिए । काश्य पदकका लागि भएको भिडन्तमा ओमले पोकेन्द्रलाई ६–२ ले पराजित गरे ।
त्यस्तै महिला स्टाण्डर्डतर्फ त्रिभुबन आर्मीका सरु तामाङले नेपाल पुलिस क्लबकी बविता श्रेष्ठलाई ६–० ले सेमीफाइनलमा हराइन् भने अर्को सेमीफाइनलमा आर्मीकै शारदा विकले कास्कीकी कृषा गुुरुङलाई ६–० ले पराजित गरिन् । यता काश्य पदकको भिडन्तमा कास्कीकी कृषाले पुलिसकी बबितालाई ७–३ पराजित गरिन् ।
यस्तै रिकर्व मेन्स टिम इभेन्टको फाइनलमा कास्की र आर्मी आमने सामने हुनेछन् । कास्कीले पुलिस क्लबलाई ६–३ र आर्मीले बागलुङलाई ५–१ ले पराजित गरेको छ । तर काश्य पदकका लागि भएको भिडन्तमा बागलुङले बाजी मारेको छ । उसले पुलिसलाई ६–४ ले पराजित गर्यो ।
मिक्स टिम रिकर्बतर्फ पुलिस क्लब र आर्मी क्लब भिडने भएका छन् । सेमीफाइनलमा पुलिसले एपिएफलाई ६–० ले र आर्मीले कास्कीलाई ६–२ ले पराजित गरेका थिए । यता कास्कीले भने सो इभेन्टमा काश्य पदक जितेको छ । एपिएफलाई ६–४ ले हराउँदै काश्य पदक हात पारेको नेपाल आर्चरी संघका सचिव योगेन्द्र शेरचनले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
प्रतियोगितामा तीन विभागिय टोलीसहित बिभिन्न ११ जिल्लाका खेलाडीहरु गरी ६५ जनाको सहभागिता रहेको छ । प्रतियोगिता भोली सम्पन्न हुने छ ।
