कास्की अन्तर पालिकास्तरीय भलिबल : अन्नपूर्ण द्वारा उपाधि रक्षा

पोखरा स्पोर्टस । कास्की जिल्ला तेस्रो अन्तर पालिकास्तरीय भलिबलमा अन्नपूर्ण गाउँपालिकाले उपाधि रक्षा गरेको छ ।

कास्की जिल्ला भलिबल संघद्वारा आयोजित उक्त प्रतियोगितामा माछापुच्छ्रे गाउँ पालिकलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो । लगातार दोस्रो वर्ष समेत बिजेता बनेको अन्नपूर्णले २५–१५, २५–१६ र २५–१९ ले माछापुच्छ्रे विरुद्ध फाइनलमा जित निकालेको हो ।

उपाधि संगै अन्नपूर्ण नगद रु १ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको माछापुच्छ्रेले नगद रु ६० हजारका साथमा ट्रफी मेडल तथा प्रमाणपत्र हात पारेको छ ।

प्रतियोगितामा पोखरा महानगर र रुपा गाउँ पालिकाले सान्त्वना स्वरुप नगद १०–१० हजार हात पारे ।

प्रतियोगितामा अन्नपूर्णका मिलन विक सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार प्राप्त गरेका छन् । त्यसै गरी अन्य विद्यागत उत्कृष्टमा रुपका बल बहादुर गुरुङ उत्कृष्ट सेटर, पोखरा महानगरका विजय परियार उत्कृष्ट सर्भर, माछापुच्छ्रेका मनोज खड्का उत्कृष्ट स्पाइकर घोषित हुँदा अन्नपूर्णका आकाश धमाल उत्कृष्ट ब्लकर, निरोज धमाल उत्कृष्ट डिफेन्डर, सुनिल धमाल उत्कृष्ट प्रशिक्षक घोषित हुँदै नगद २ हजार पाँचसयका साथमा प्रमाणपत्र प्राप्त गरे ।

यस अघि आज नै सम्पन्न सेमीफाइनलमा अन्नपूर्णले रुपा गाउँ पालिकालाई ३–१ ले र माछापुच्छ्रेले पोखरा महानगर पालिका लाई ३–१ को सेटमा पराजित गरी फाइनल यात्रा तय गरेका थिए ।

प्रतियोगितामा विजेता खेलाडीहरुलाई रुपा गाउँ पालिकाका अध्यक्ष नवराज ओझा, अन्नपूर्ण गाउँ पालिकाका अध्यक्ष विष्णु बहादुर केसी र माछापुच्छ्रे गाउँ पालिकाका अध्यक्ष मिन बहादुर गुरुङले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । समापन कार्यक्रम कास्की भलिबल संघका अध्यक्ष विष्णु बहादुर गुरुङको अध्यक्षतामा भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close