आठौं पोखरा स्पोर्ट्स अवार्डका लागि ४ विद्यामा मनोनयन सार्वजनिक

पोखरा स्पोर्टस । ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को लागि ४ विद्यामा मनोनयन सार्वजनिक भएको छ ।

स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । सोमबार पोखराकोे लेकसाइडस्थित बुमर्‍याङ रेष्टुरेण्ट एण्ड मुस्ताङ बारमा आयोजित पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले  मनोनयन सार्वजनिक गरेको हो ।

यही वैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्डअन्तर्गत मनोनयनको वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

वर्ष खेलाडी महिलातर्फ आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर मनोनयनमा स्थान बनाए ।

१७ वर्ष मुनिका खेलाडीबीच प्रतिष्पर्धा हुने उदियमान खेलाडी विधामा क्रिकेटकी ज्योत्सिन्का मरासिनी, व्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की समावेश बने ।

उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु पर्न सफल भएको महासचिव पौडेलले खुलाए ।

स्पोर्ट्स अवार्डमा कुल ७ विद्यामा अवार्ड प्रदान गरिनेछ । बाँकी विधाहरु लाइफटाइम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ वा क्लब र पत्रकारिता अवार्डको घोषणा पछि सार्वजनिक गर्ने जनाएको छ ।

वर्ष खेलाडी पुरुष र महिला हुन सफल खेलाडीले इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक,वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार सहित ट्रफी पाउने अध्यक्ष बरालले बताए । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिने समेत मञ्चले जनाएको छ ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ ।

यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपालले प्रायोजन गर्ने सम्झौता भएको छ ।

यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप/आभ्या क्लब, मादी गाउँपालिका, बुमराङ रेष्टुरेन्ट लेकसाइड, नेपाल भुतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, गण्डकी प्रदेश क्रिकेट संघ, इन्द्रधारा विष्ट (मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ हर्वल व्युटी पार्लर, दीपक थापा (हक्की संघ गण्डकी), पोखरा १५ वडा कार्यालय लगायत सहयोगी रहेका छन् । लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ । सहयोग विवरण आगामी दिनमा जानकारी दिँदै जाने मञ्चले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close