अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रक्रिया अघि बढाउँदै मन्त्रालय, सर्च कमिटि गठन

केशव पाठक/पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढ्ने भएको छ ।

करिव तीन वर्ष देखी जग्गाको खोजीमा रहेको गण्डकी प्रदेश सरकार पोखरा महानगर पालिका २९ स्थित पटनेरीमा प्राप्त हुने जग्गाको अध्ययन एवं निर्माण प्रक्रिया अघि बढाउन समिति गठन गरेर अघि बढेको हो । पोखरा महानगर पालिका वडा नं २९ को कार्यालयले पटनेरीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ४ सय ५० रोपनी जग्गा दिने सहमती जनाए संगै प्रदेश खेलकुद परिषद गण्डकीले मन्त्रालयमा प्रक्रिया अघि बढाउन मन्त्रालयमा पत्रचार गरेको थियो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले उक्त जग्गाको अध्ययन गरी अन्तिम प्रतिवेदन पेश गर्न मन्त्रालयका महाशाखा प्रुमख प्रकाश देवकोटाको संयोजकत्वमा ९ सदस्यिय सर्च कमिटि गठन गरिएको छ । कमिटिमा जिल्ला प्रशासन कार्यालय कास्की, मालपोत कार्यालय कास्की, नापी कार्यालय, पोखरा महानगर पालिकाका प्रतिनिधी, प्रदेश खेलकुद परिषद गण्डकीका तर्फबाट कार्यकारी सदस्य ऋषीराम गौतम, पोखरा २९ का अध्यक्ष श्री प्रसाद गुरुङ, प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल र खेलकुद महाशाखाका अधिकृत शंकर बराल रहेका छन् ।

करिव ४ सय ५० रोपनीमा फैलिएको पोखरा २९ पटनेरीको जग्गा विगतमा वडा नं ३३ स्थित प्रस्तावित पशुपतीघाट क्रिकेट रंगशालाको उत्तरतर्फ रहेको छ । सेती नदीको समेत उत्तरतर्फ रहेको प्रस्तावित पोखरा २९ पटनेरीको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, पोखरा रंगशाला र प्रस्तावित तनहुँको शुक्लागण्डकी वडा नं ८ गाउँफर्कोदय माविको खेल मैदान प्रस्तावित प्रादेशिक रंगशालाको नजिक समेत नजिक पर्ने भएकोले मन्त्रालयले चासो जनाएको हो ।

प्राकृतिक र भौगोलिक कारणले पशुपतीघाट अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य अघि नवढे संगै प्रदेश सरकार विगत तीन वर्ष देखि नयाँ जग्गाको खोजीमा रहेको थियो । यस अघि प्रदेश सरकारले पशुपतीघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि डिपिआर समेत तयार गरिसकेको थियो ।

गण्डकी प्रदेश सरकारले गत चैत्र ९ गतेको मन्त्री परिषदको बैठकले नवलपुरको कावासोती नगरपालिका वडा नं २ स्थित नवदुर्गा खेल मैदान र तनहुँ शुक्लागण्डकी वडा नं ८ गाउँफर्कोदय माविको खेल मैदानलाई प्रदेशस्तरीय क्रिकेट खेल मैदान निर्माण गर्ने निर्णय गरिसकेको छ ।

गण्डकीमा २–२ वटा प्रादेशिकस्तरीय क्रिकेट रंगशाला निर्माणका लागि मन्त्री परिषदको बैठकले निर्णय गर्नु र अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणका लागि सर्च कमिटि गठन भए संगै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले खुसी व्यक्त गरेका छन् ।

“हामीले अन्तर्राष्ट्रिय क्रिकेट रंशगाला निर्माणका लागि जग्गाको खोजी तथा अध्ययनका लागि समिति नै गठन गरेका थियौं । जुन विषय अब प्रदेश सरकारको प्राथमिकतामा समेत परेको छ”, सदस्य सचिव शर्माले भने–“मन्त्रालयले सर्च कमिटि नै गठन गरेको छ । दुई वटा प्रादेशिक र एक अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि अबको नयाँ बजेटमा पक्कै पनि सरकारले बजेटमा सम्वोधन गर्ने कुरामा परिषद विश्वस्त छ ।” उनले यी क्रिकेट रंगशालाको निर्माणले गण्डकीलाई क्रिकेटको हव बनाउँदै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने बताए ।

यसै गरी सदस्य सचिब शर्माले पोखरा २९ मा नै रहेको आदर्श खेल मैदानमा निर्माणाधिन अवस्थामा रहेको कभर्ड हल निर्माण सम्पन्न गर्न यूवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदलाई समेत पत्रचार गरेको बताए । उनले आदर्श खेल मैदान गण्डकीका लागि अर्को सहज र निकै उत्कृष्ट खेल मैदान रहेको बताउँदै त्यहाँ लामो समय देखि निर्माणाधिन अवस्थामा रहेको कभर्ड हलको निर्माण सम्पन्न गर्न परिषद तयार रहेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close