
पोखरा स्पोर्टस । गोरखाको बारपाक सुलिकोटमा सम्पन्न गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ नवलपुर र महिलातर्फ पर्वतले उपाधि जितेका छन् ।


सम्पन्न पुरुषतर्फको फाइनलमा नवलपुरले स्याङजालाई ३–२ सेटले र महिलातर्फ पर्वतले म्याग्दीलाई ३–२ को सेटमा पराजित गरी उपाधि जितेका हुन् । उपाधि संगै नवलपुर र पर्वतले समान नगद रु १/१ लाख र उपविजेता स्याङजा र म्याग्दीले समान नगद रु ७५/७५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।
पुरुषतर्फको फाइनलमा पहिलो दुई सेट स्याङजाले २५–२१ र २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भए पनि पछिल्ला तीन सेटमा नवलपुर खेलमा फर्किदैं उपाधि जित्न सफल भयो । नवलपुरले स्याङजालाई अन्तिम तीन सेट २५–१६, २५–२१ र १५–११ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
त्यस्तै महिलातर्फको पर्वत र म्याग्दीको फाइनल खेल पनि निकै रोचक रह्यो । नेपाली राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीको कप्तानीमा रहेको म्याग्दीले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारे पनि दोस्रो सेट भने २५–२३ ले पर्वतलाई सुम्पियो । पुनः तेस्रो सेटमा म्याग्दीले २५–२३ ले आफ्नो पक्षमा पारे पनि अन्तिम दुई सेट पर्वतले २५–१४ र १६–१४ ले आफ्नो पक्षमा पार्दै उपाधि समेत् जित्यो ।
त्यसै गरी प्रतियोगितामा पुरुषतर्फ म्याग्दी जिल्लाले तनहुँलाई ३–२ को सेटमा पराजित गरी तेश्रो स्थान हात पार्दा महिलातर्फ स्याङजाले कास्कीलाई ३–१ को सेटमा पराजित गरी तेस्रो स्थान हासिल गरेका छन् । पुरुषतर्फ म्याग्दीले तनहुँलाई २५–२१, १९–२५, १९–२५, २५–२३ र १५–१० ले र महिलातर्फ स्याङजाले कास्कीलाइ २५–११, २०–२५, २६–२४ र २५–१४ ले पराजित गरेको हो । तेस्रो स्थान हासिल गर्ने म्याग्दी र स्याङजाले समान नगद रु ५०/५० हजार प्राप्त गरे ।
यहि बैशाख १० गतेबाट सञ्चालन भएको उक्त प्रतियोगितामा पुरुषतर्फ नवलपुरका हिमाल सुनारी सर्वोत्ृकष्ट खेलाडी घोषित हुँदा महिलातर्फ पर्वतकी रिमा कुंवर सर्वोत्कृष्ट बन्न सफल भइन् ।
को–को भए उत्कृष्ट
पुरुषतर्फ
वेष्ट स्पाइकर : सञ्जुविक्रम शाह (स्यांगजा)
वेष्ट सेटर : दान बहादुर गाहा (नवलपुर)
वेष्ट सर्भर : देवेन्द्र बुढा (म्याग्दी)
वेष्ट ब्लकर : सरोज बर्देवा (नवलपुर)
वेष्ट डिफेन्डर : राजन दर्लामी (स्याङजा)
उत्कृष्ट प्रशिक्षक : राम नारायण महतो (नवलपुर)
महिलातर्फ
वेष्ट स्पाइकर : रिञ्जना बोटे (म्याग्दी)
वेष्ट सेटर : बिना फगामी (पर्वत)
वेष्ट सर्भर : सोइङ थापा (स्याङजा)
वेष्ट ब्लकर : मनिषा तिलिजा (म्याग्दी)
वेष्ट डिफेन्डर : जायरा निसा (स्याङजा)
उत्कृष्ट प्रशिक्षक : जगदिश सुवेदी (पर्वत)
प्रतियोगितामा सर्वोत्कृष्ट हुने सबै खेलाडीले जनही नगद ५/५ हजारका साथमा प्रमाणपत्र प्राप्त गरे ।
उक्त प्रतियोगिता १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि समेत छनौट खेल रहेको परिषदले जनाएको छ । प्रतियोगितामा ११ जिल्लाका महिलातर्फ १० टिम र पुरुषतर्फ १० टिम गरी कुल २० टिमको सहभागिता रहेको थियो ।
