पोखरामा हुने एसियाकप ट्रायथलनमा १५ देशका खेलाडी पोखरा आउँदै

पोखरा स्पोर्टस । पोखरामा आयोजना हुने सातौं सस्करणको एसियाकप ट्रायथलनमा विश्वभरीका १५ भन्दा बढि देशका ५६ जनाले नाम दर्ता गरेका छन् ।

प्रतियोगिता सुरु हुनु भन्दा एक साता अघि सम्म विभिन्न १५ देशका ४१ पुरुष र १५ महिला गरी कुल ५६ जनाले आफ्नो नाम दर्ता गराइसकेका हुन् । प्रतियोगिता यहि बैशाख १५ र १६ गते पोखरामा आयोजना हुनेछ । नेपाल ट्रायथलन संघको आयोजनामा हुने उक्त प्रतियोगिता संगै साउथ एसिया च्याम्पियनसिप र राष्ट्रिय ट्रायथलन प्रतियोगिता समेत हुनेछ ।

तीन विभिन्न प्रतियोगिताका लागि वर्ल्ड ट्रायथलनबाट सोझै खेलाडी दर्ता प्रक्रिया जारी रहेको नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“नाम दर्ता गर्ने प्रक्रिया अझै बन्द भइसकेको छैन । खेलाडीहरुको संख्या अझै थपिने विश्वास लिएका छौं ।”

प्रतियोगितामा नेपालसहित अस्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, प्लेस्टाइन, उरुग्ये, अस्ट्रिया, अल्जेरिया, न्यूजिल्याण्ड, लक्जम्वर्ग, जापान, भारत, मरिसस, काजाकास्तान, उज्बेकिस्तानलगायतका देशका खेलाडी पोखरा आउने भएका छन् । प्रतियोगितामा सर्वाधिक सहभागिता भारतको छ । जसमा हाल सम्म २० पुरुष र ५ खेलाडीले नाम दर्ता गराएका छन् भने नेपालबाट ९ जना पुरुष र २ महिला खेलाडी छन् । नेपालबाट महिलातर्फ श्रेवी महर्जन र केशरी थापा मगरले चुनौती पस्किने छन् । प्रतियोगितामा सहभागि हुने खेलाडीहरु प्रायः वर्ल्ड ट्रायथलनबाट वरियता प्राप्त खेलाडीहरु हुन् ।

प्रतियोगिता अवलोकनका लागि वर्ल्ड ट्रायथलन फेडेरेशनका प्रेसिडेन्ट मारिसोल कासादो र महासचिव एन्टोनियो आरामानी नेपाल आउने तय भइसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । अध्यक्ष श्रेष्ठले नेपाली ट्रायथलन खेलको विकासका लागि उनीहरुको आगमनले नयाँ उत्साह थपिने बताउँदै खुसी व्यक्त गरेका छन् । उनले भने–“स्वयं अध्यक्ष ज्यू र महासचिव ज्यू नेपाल आउँदै हुनुहुन्छ र हाम्रो आयोजनलाई नजिकबाट अवलोकन गर्नुहुनेछ । हामी नेपाली ट्रायथलन खेलको विकास र सहकार्यका लागि उहाँहरु संग घनिभुत छलफल गर्नेछौं ।”

यस पटक नेपाल ट्रायथलन संघले स्थानिय व्यवस्थापनको जिम्मा गण्डकी प्रदेश ट्रायथलन संघललाई सुम्पिएको छ । संघले यस पटक स्थानिय प्राविधिकहरु उत्पादन गर्न खोजिएको प्राविधिक प्रशिक्षण कार्यक्रम भने स्थगित गरिएको अध्यक्ष श्रेष्ठले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“हामीले प्रयास गरेका हौं । तर एसियन ट्रायथलनको प्राविधिक टोली व्यस्त भएका कारण सम्भव हुन सकेन । तर हामी त्यो कार्यक्रम चाँडै नै तय गर्नेछौं ।”

पौडी, दौड र साइक्लिङको समिश्रण रहेको ट्रायथल खेल पोखरामा ९० को दशकमा सुरु भएको हो । यो प्रतियोगिताले खेलकुदमार्फत पर्यटन प्रवर्द्धनमा समेत उत्तिकै प्रभावकारी भूमिका खेलेको स्थानियहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close