नेपाल भुतपूर्व खेलाडी मञ्च २४ वर्षमा, खेलकुद विकासमा महत्वपूर्ण योगदान

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको एक मात्र छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च २३ वर्ष पुरा गरी २४ वर्षमा प्रवेश गरेको छ ।

२४ औं स्थापना दिवसका अवसरमा मञ्चले एक कार्यक्रम गरी आफ्नो वर्षगाँठ मनाएको छ । विसं २०५८ सालमा खेल जिवनबाट अवकाश पाएका खेलाडीहरुको सक्रियतामा स्थापना गरिएको नेपाल भूतपूर्व खेलाडी मञ्चले नेपालमा पहिलो पटक पोखरा म्याराथन आफ्नो स्थापना कालबाट सुरुवात गरेको हो । जुन म्याराथन नेपालकै पहिलो हो भने दक्षिण एसियामा दोस्रो समेत हो । यसका अलवा खेलाडीहरुको हक हित र खेलकुदको विकास एवं पोखरा रंगशाला संरक्षणका लागि पर्खाल निर्माण अभियानमा प्रमुख भूमिका समेत खेलेको छ ।

कार्यसमितिका बीच मनाइएको वार्षिकोत्सवमा बोल्दै संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटले नेपाली खेलाडी तथा खेलप्रेमीहरुलाई एक ठाउँमा ल्याउँदै खेलकुद विकासको अभियानमा समाहित गर्न मञ्चको गठन भएको जनाउँदै सो उद्धेश्य पुरा गर्न मञ्च सदैव अघि बढेको बताए । उनले भने–“सक्रिय खेल जिवनबाट घरमा नै बसेका खेलाडीहरुलाई एक ठाउँमा उभ्याउन र उनीहरुलाई खेल मैदान सम्म ल्याउन मञ्चले भूमिका छ भने अर्कोतर्फ हामी सबैले आफ्नो खेल जिवनमा सिकेको शिप यूवापुस्ताहरु बीच बाँड्दै खेलकुद विकासलाई अघि बढाउन समेत भूमिका खेल्नु छ ।”

यस्तै निवर्तमान अध्यक्ष एवं प्रदेश खेलकुदका परिषदका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले समाजबाट लिने भन्दा पनि समाजलाई हामीले के दिने भन्ने विषय प्रमुख रहेको बताए । उनले नेपाली खेलकुदको विकासमा मञ्चको भूमिका मात्रै नभई नेपाली खेलकुदमा समेत मञ्चले नेतृत्वदायी भुमिकामा समेत उत्तिकै प्रभावकारी रहेको उल्लेख गरे ।

मञ्चका कार्यबाहक अध्यक्ष दिल बहादुर गुरुङले नेपाली खेलकुदमा मञ्चको भूमिका प्रशंसनिय रहेको बताए । उनले १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल बनाउन सहयोग गर्नेहरु प्रति आभार समेत प्रकट गर्दै  मञ्चका गतिविधिहरुलाई सहयोग गर्नेहरु प्रति आभार प्रकट गरे । उनले मञ्चलाई यहाँ सम्म ल्याइपुर्‍याउन संस्थापकहरुको भूमिका अतुलनिय रहेको जनाउँदै दिवंगत आजिवन सदस्य तथा संस्थापकहरु प्रति श्रद्धाञ्जली अपर्ण गरे ।

सो अवसरमा आफ्नो पारिवारिक काममा अमेरिका भ्रमणमा रहेका मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले २४ औं वार्षिकोत्सवका अवसरमा सबैप्रति शुभेच्छा प्रकट गरेका छन् । 

वार्षिकोत्सवका अवसरमा दिप प्रज्वलन संगै विरुवामा मुक्तिनाथको जल सिंचन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close