
पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा हुने भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा उक्त प्रतियोगिता यहि बैशाख १० देखि १२ गते सम्म सञ्चालन हुने परिषदका सदस्य सचिब श्रीधर शर्माले जानकारी दिएका हुन् ।
प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका टिमहरुको सहभागिता हुने छ । उक्त प्रतियोगिता आगामी २०८१ मंसिर २ देखि ८ गते सम्म कर्णाली प्रदेशमा आयोजना हुने वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट खेलको रुपमा आयोजना गरिएको सदस्य सचिब शर्माले जानकारी दिएका छन् ।
“ऐतिहासिक बारपाकमा हामीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भलिबलका खेलाडी छनौट गर्दैछौं” सदस्य सचिब शर्माले भने–“त्यहाँ खेलाडी छनौट भए संगै बन्द प्रशिक्षण सुरु गर्नेछौं ।” दशौं अघि हुने अन्य राष्ट्रिय तथा क्लवस्तरीय प्रतियोगिताहरुमा समेत बारपाकबाट छनौट भएका खेलाडीहरुलाई समावेश गर्ने गरी परिषदले तय गरेको सदस्य सचिव शर्माले बताए ।
त्यसै गरी अन्य खेलकासहित यहि जेठको दोस्रो साता सम्म छनौट खेलहरु हुने उनले जानकारी दिए । उनले भने–“हामी सबै खेलका छनौट खेलका प्रतियोगिता आयोजना गर्दैछौं । सबै जिल्लाका खेलाडीहरुलाई तयारी अवस्थामा बस्न आग्रह गर्दछु ।”
उक्त प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुदका लागि खेलाडी छनौट समेत रहेकोले महत्वपूर्ण प्रतियोगिता रहेको प्रतियोगिताका संयोजक समेत रहेका परिषदका सदस्य बिनय थापाले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न बारपाक सुलिकोट गाउँपालिकाले समेत सहयोग गर्ने भएको छ । गोरखाको बारपाक २०७२ सालको महाभुकम्पको केन्द्रविन्दु समेत हो ।
फोटो : बारपाक सुलिकोट गाउँपालिको पेजबाट
