
पोखरा स्पोर्टस । लुम्बिनी इन्टरनेशनल पिस म्याराथनको तयारी सुरु भएको छ ।
खेलकूद मार्फत शान्ती र विकासको सन्देश प्रवाहीत गर्न अप्रिल ६ का दिन हरेक वर्ष विश्वभर मनाइने ‘दि इन्टरनेशनल डे–अफ स्पोर्टस् फर डेभलप्मेन्ट एण्ड पिस’ का अवसरमा नेपाल ओलम्पिक कमिटीले दुई वर्ष यता लुम्बिनी पिस म्याराथन आयोजना गर्दै आइरहेको छ ।
नेपाल ओलम्पिक कमिटीले सो अवसरमा बुद्ध जन्म स्थल लुम्बिनीमा लुम्बिनी इन्टरनेशनल पिस म्याराथन, हाफ म्याराथन, ५ किमि दौड र ३ किमि वाकाथन समेत आयोजना गर्ने भएको नेपाल ओलम्पिक कमिटिका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
दुई दिन सम्म सञ्चालन हुने कार्यक्रममा चैत्र २३ गते ध्यान शिविर र टक शो कार्यक्रम तय गरिएको छ भने चैत्र २४ गते दौडका प्रतियोगिताहरु, स्पोर्टस डेमोस्ट्रेशन (विशेष गरी बौद्धकालिन सभ्यातामा खेलिने पौराणिक खेल), विश्व शान्तीका लागि प्राथना र सोही साँझ पिस कन्सर्ट समेत तय गरिएको कार्यकारी सचिव श्रेष्ठले बताए ।
नेपाल ओलम्पिक कमिटि, चिनियाँ दुतावास, नेपाल पर्यटन बोर्ड, प्रदेश खेलकुद परिषद लुम्बिनी र लुम्बिनी विकास कोषको समेत सहभागिता रहेको भेलामा ति कार्यक्रमहरु तय गरिएको श्रेष्ठले बताए । उनले भने–“हामीले हरेक वर्ष यो दिवश मनाउँदै आएका छौं । तर यो वर्ष पृथकरुपमा सञ्चालन हुनेछ । जसका कारण हामीले बुद्ध जन्मस्थल लुम्बिनीबाट खेलकुद मार्फत शान्ती र विकासका लागि नयाँ सन्देश दिन सकौं ।”
लुम्विनी पिस म्याराथनका लागि साग मुलुकमा सहभागिताका लागि पत्र पठाइसकिएको जानकारी दिंदै कार्यकारी सचिव श्रेष्ठले यो वर्ष पुरस्कार राशी समेत वृद्धि हुने जानकारी दिए । “पुरस्कार राशीका विषयमा हामी भोली छलफल गर्दैछौं । सकभर विश्वभरका खेलाडीहरु लुम्विनीमा आएर सहभागि हुन सकुन भन्ने हाम्रो ध्येय रहनेछ” उनले भने ।
सम्पन्न भेला नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं पूर्व मन्त्री जिवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, चिनियाँ दुतावासका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।
