पोखरामा हुने एसियाकप ट्रायथलन सफल बनाउन सरोकारवालाहरु संग साक्षात्कार

पोखरा स्पोर्टस । पोखरामा आयोजना हुने सातौं सस्करणको एसियाकप, साउथ एसिया च्याम्पियनसिप र राष्ट्रिय ट्रायथलन सफल बनाउन सरोकारवालाहरु संग एक साक्षात्कार ‘‘ट्रायथलन फेमिलियराइजेसन’ कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

नेपाल ट्रयाथलन संघ, गण्डकी प्रदेश ट्रायथलन संघ र कास्की जिल्ला ट्रायथलन संघको संयूक्त आयोजनामा उक्त साक्षात्कार कार्यक्रम सम्पन्न भएको हो । सन ९० को दशक देखि पोखरामा सञ्चालन हुँदै आएका उक्त ट्रायथलन खेलको रुपमा मात्रै नभई पोखराको प्रवर्द्धन गर्न समेत महत्वपूर्ण भूमिका खेलेको वक्ताहरुले जनाएका छन् ।

तिन जना बेलायती खेलाडी जेन, जान र जोनीले पहिलो पटक पोखरामा आएर सुरु भएको ट्रायथलन पछिल्लो समयमा वर्ल्ड ट्रायथलन फेडेरेशनले समेत महत्वका साथ लिएको बताउँदै यसका आयोजकले भन्दा पनि स्थानिय पोखरेलीहरुले यसको अपनत्व लिनुपर्ने कुरामा जोड दिइएको छ ।

पौडी, साइक्लिङ र दौडको समृस्ण रहेको ट्रयाथलन खेलको पहिलो साउथ एसिया चयम्पियिनसिप सन २०१२ मा पोखराको बेगनासमा सुरुवात भएको थियो । त्यसपछि भने निरन्तर रुपमा पोखराको फेवाताल र लेकसाइडमा यो प्रतियोगिता हुँदै आएको छ । सान २०१९ बाट वर्ल्ड ट्रायथलन फेडेरेशनले एसिया कप (कुनै पनि देशका खेलाडी सहभागि हुन पाउने) प्रतियोगितालाई मान्यता दिए पछि यसको उचाई समेत बढ्दै गएको छ । गत वर्ष सम्पन्न प्रतियोगितामा विभिन्न देशका ५३ जना खेलाडीले सहभागिता जनाएका थिए ।

बोल्दै संघका केन्द्रिय अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठले पोखरा ट्रायथलनका लागि उत्कृष्ट गन्तव्य रहेको जनाउँदै यस खेलको अपनत्वलिन पोखरेलीहरु आफै चनाखो हुनु पर्ने औंल्याए । उनले भने–“हामी लगातार काठमाण्डौबाट आएर यहाँ प्रतियोगिता आयोजना गरेका छौं । तर यसको महत्वका बारे पोखरा आफै अघि नवढे सम्म यसको महत्व स्थापित हुन सक्दैन ।”

पछिल्लो समय दक्षिण एसियाली खेलकुदमा पदक प्राप्ती पछि नेपाली ट्रायथलन खेलको विकासले फड्को मारेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले वैशाख १५ र १६ गते हुने प्रतियोगिताका लागि वैशाख ८ र ९ गते पोखराकै स्थनीयहरुलाई लक्षित गरेर टेक्निकल अफिसर्स कोर्सको आयोजना गरने जानकारी दिए । उनले भने–“पोखरामा यो प्रतियोगिता हुन्छ । त्यसै पनि पोखरेलीहरु नै यसमा सक्षम हुन आवश्यक छ । त्यसैलाई मध्यनजर गर्दै टेक्निकल कोर्सलाई जोडेका छौं ।”

यसैगरी नेपाल ट्रायथलन संघले गण्डकी प्रदेशलाई स्थानिय आयोजक कमिटीको जिम्मेवारी सुम्पिएको छ । गण्डकी प्रदेशका कार्यवहाक अध्यक्ष डिल्लीराज सुवेदीले अबदेखि  गण्डकी प्रदेश ट्रायथलन संघले प्रतियोगिता आयोजकको रुपमा सहभागि हुने जनाएका छन् ।

कार्यक्रममा नेपाल ट्रायथलन संघका सल्लाहकार विश्वशंकर पालिखे, नेपाल ट्रायथलन संघका उपाध्यक्षद्वय दीपक कोइराला र सुमन देवकोटा, कोषाध्यक्ष निरज श्रेष्ठ, कास्की जिल्लाका अध्यक्ष प्रमेश पराजुली, पर्यटन व्यवसायीहरु लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा ट्रायथलन खेलका विज्ञ, सिनियर प्रशिक्षक एवं संघका महासचिव यूवराज सुनुवारले ट्रायथलन खेलका विभिन्न पक्ष बारे जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close