
पोखरा स्पोर्टस । पोखरा महानगरपालिका वडा नं–१५ ले शनिवार एकै पटक ६ वटा व्यायामशालाको उद्घाटन गरेको छ । वार्षिक बजेट विनियोजन अनुसार २० लाख रुपैयाँको लागतमा वडाको राति खहरे, ठाँटिपाटन, सानिपाटन, बन क्याम्पस र नागिन टोलका सार्वजनिक तथा खुल्ला चौरमा ३६ थान सामग्री सहितको व्यायामशालाको उद्घाटन गरेको हो ।
व्यायामशालाको उद्घाटन गर्दै वडा अध्यक्ष तोरण बानियाँले वडा नं–१५ मा धेरै सार्वजनिक जग्गा, खुल्ला चौर, र पाटनहरू भएकाले ती जग्गाहरूको सदुपयोग गर्ने उद्देश्यले ठाउँ अनुसार खेलकुद स्थल र व्यायामशालाको निर्माण गरिएको बताए ।
वडाले लिएको नीति अनुरूप पूर्वाधार बाहेक नागरिकको विकासका लागि शिक्षा, स्वास्थ्य, खेलकुद, महिला उद्यमशीलता र युवा स्वरोजगारलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको र आजको व्यायामशाला उद्घाटन यही कार्यको निरन्तरता भएको प्रस्ट्याए अध्यक्ष बाँनियाले बताए । उनले नागरिकको स्वास्थ्यका लागि वडाका विभिन्न स्थानमा व्यायामशाला स्थापना गरिएको भन्दै वडावासीलाई समय र स्थान अनुकूल गई कसरत गरेर स्वास्थ्य लाभ लिन आग्रह गरे ।
सबैलाई व्यायामशालाको भरपुर उपयोग गर्न आग्रह गर्दै यसको संरक्षण र सम्वर्द्धधन गर्ने दायित्व पनि नागरिकको रहेको उनले बताए । साथै, बानियाँले व्यायाम सामग्री स्थापना तथा व्यवस्थापनमा सहयोग गर्ने उपभोक्ता समितिका अध्यक्ष शिव बहादुर बानियाँ र बुद्धि बहादुर बानियाँलाई धन्यवाद दिँदै आभार प्रकट गरे ।
वडा सदस्य आशिष भण्डारीले नागरिक स्वस्थ रहनुपर्छ भन्ने मूल ध्येयका साथ वडाले सुरुवात देखिनै खेलका माध्यमबाट नागरिकलाई जोड्ने अभियान थालेको र सोही अभियान स्वरूप भर्खरै वडावासीको उल्लेख्य सहभागितामा दोस्रो खेलकुद महोत्सव सम्पन्न गरिएको बताए । पछिल्लो समय युवापुस्ता विसङ्गतितर्फ लागिरहेको अवस्थामा यस खालका व्यायामशालाले विसङ्गतिलाई रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए। वडाले उपलब्ध गराएको व्यायामशालामा केटाकेटीदेखि अभिभावकसम्मकाले व्यायाम गर्न सक्ने भन्दै यसको संरक्षण पनि सबैले गर्नुपर्नेमा उनले जोड दिए ।
वडा सदस्य बलराम पौडेलले नागरिक र जनप्रतिनिधिहरू बिच सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । उनले व्यायाम सामग्रीहरूको पूजा गर्दै व्यायामका क्रममा चोटपटक नलागोस्, अप्रिय घटना नघटोस् भनेर कामना गरे ।
उपभोक्ता समितिका अध्यक्ष तथा समाजसेवी शिव बहादुर बानियाँले आर्थिक वर्ष २०८० –८१ को बजेट विनियोजन मध्ये २० लाखबाट वडाका ६ खुल्ला स्थानमा व्यायामशालाको सामग्री जडान गरिएको बताए। उनले अहिले जडान गरिएका सामग्रीहरू अत्यन्त हेभी र गुणस्तरीय रहेकाले यसको सही सदुपयोग गर्दै संरक्षण गर्न सबैलाई अनुरोध गरे ।
वन विज्ञान अध्ययन संस्थानका सहायक क्याम्पस प्रमुख सुमन भट्टराईले वडा नं–१५ ले खुल्ला व्यायामशालाका लागि उपकरण प्रदान तथा स्थापना गरिदिएकोमा धन्यवाद दिए। उनले यहाँ स्थापित उपकरण अब आफूहरूको जिम्मेवारीमा आएको भन्दै यसको अधिकतम उपयोग गर्दै संरक्षण गर्ने दाबी गरे। उनले पछिल्लो समय क्याम्पस र वडासँगको सम्बन्ध बाक्लिँदै गइरहेको भन्दै यस्तै कार्यक्रमहरूले नै सम्बन्ध जोडिने प्रतिक्रिया दिए ।
यस्तै, सानिपाटन टोलका अध्यक्ष दीपक कार्कीले नागरिकको स्वास्थ्यप्रति सचेत बन्दै वडाले विभिन्न ठाउँमा व्यायामका सामग्री स्थापना गरिदिएकोमा वडालाई धन्यवाद दिए । उद्घाटन कार्यक्रममा वडा कार्यालयका जनप्रतिनिधि, विभिन्न टोल सुधार समितिका सदस्यहरू, आमा समूह लगायतको उपस्थिति रहेको थियो ।
