
पोखरा स्पोर्टस । चन्द्रागिरी तेक्वान्दो डोजाङको आयोजनामा प्रथम चन्द्रागिरी खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता बैशाख २१ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा ग्योरोगी र पुम्सेमा गरी जम्मा २८ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक डोजाङका प्रमुख समेत रहेका प्रतियोगिता संयोजक सुवास तामाङले जनाएका छन् ।
सिनियरको पुरुष/महिलामा ४/४, जुनियरको पुरुष/महिलामा ३/३, सब जुनियरको पुरुष/महिलामा ५–३, एकल पुम्सेको पुरुष/महिलामा २/२ र पेयर पुम्सेमा २ स्पर्धामा खेल हुनेछ । उनका अनुसार करिब ८ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको छ ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट पुरुष/महिला खेलाडी, निर्णायक र प्रशिक्षकलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
चन्द्रागिरी नगरपालिकाको सहयोगमा हुन लागेको तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
