
पोखरा स्पोर्टस । बेगनास तालमा आयोजना हुने ‘प्रथम राष्ट्रिय ड्रागन बोट रेस’ सफल बनाउन स्थानियहरुले प्रतिवद्धता जनाएका छन् ।

उक्त प्रतियोगिताको तयारी स्वरुप स्थानिय विभिन्न संघ संस्थाहरु संगको छलफलमा उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । सम्पन्न छलफलमा करिव एक दर्जन संघ संस्थाका प्रतिनिधिहरुले ड्रागन बोट रेसले लेखनाथको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको जनाउँदै सबैले एकजुट भएर प्रतियोगिता सफल बनाउने प्रतिवद्धता व्यक्त गरे ।
छलफलका क्रममा उनीहरुले लेखनाथका लागि यो गर्व र अवसरको विषय रहेको जनाउँदै खेलकुदका माध्यमबाट यस क्षेत्रको प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रलाई चलायमान बनाउन समेत उत्तिकै महत्वपूर्ण रहेको दावी गरे । छलफलमा सहभागि अधिकांश सहभागिहरुले भने–“लेखनाथ पोखरा महानगर पालिकाको एक अङ्ग भए पनि धेरै क्षेत्रमा पछि परेको छ । पछाडी परेको बेगनासलाई गति दिन यो कार्यक्रम सान्दर्भीक छ ।”
पोखराको पर्यटन प्रवर्द्धन गर्न चिनले दिएका ड्रागन बोटहरुको समुचित उपयोग गर्दै बेगनासलाई खेलाडी उत्पादन गर्ने थलोको रुपमा विकास गर्न समेत सहभागिहरुले सुझाव दिएका छन् । उनीहरुले भनेका छन्–“सात तालको शहरको रुपमा परिचित लेखनाथलाई बेगनास मात्रै नभई रुपा र अन्य ताललाई समेत जल खेलको विकासमा अघि बढाउनु पर्छ ।”
गण्डकी प्रदेश ड्रागन बोट संघका अध्यक्ष ई.दिपक सुवेदीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा पोखरा पर्यटन समितिका उपाध्यक्ष रविन्द्र पौडेलले पोखरा महानगर समग्र पोखराको पर्यटन विकासका लागि अघि बढेको जनाउँदै दुई दिने प्रतियोगितामा करिव १६ टिमको सहभागिता हुने जनाए । उनले भने–“यो समग्रमा लेखनाथको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण कार्यक्रम हो । यसले खेलकुदको माध्यमबाट समग्र लेखनाथ क्षेत्रको प्रवर्द्धन गर्न भूमिका खेल्ने छ ।”
कार्यक्रम लेखनाथ होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष बिरभद्र कडेंल, लेखनाथ उद्याृग बाणिज्य संघका अध्यक्ष बिनोद श्रेष्ठलगायतले आफ्ना भनाई राखेका थिए ।
फागु उत्सवको अवसरमा आयोजित ‘प्रथम राष्ट्रिय ड्रायन बोट रेस’ यहि चैत्र ११ र १२ गते गण्डकी प्रदेश ड्रागन बोट संघ, पोखरा महानगर पालिका र लेखनाथ होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको संयूक्त आयोजनामा सञ्चालनमा हुने भएको छ । उक्त प्रतियोगिताको प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड र लेखनाथ उद्योग बाणिज्य संघ रहेका छन् ।
