नेपाली राष्ट्रिय टोली र इङ्ल्याण्डको ‘सी’ टिम बीचको मैत्रीपूर्ण फुटबल चार वर्ष पछि पुनः तय

पोखरा स्पोर्टस । नेपाली राष्ट्रिय टोली र इङ्ल्याण्डको ‘सी’ टिम बीच मैत्रीपूर्ण फुटबल चार वर्ष पछि पुनः तय भएको छ ।

यस अघि सन २०२० का लागि तय भएको उक्त मैत्री फुटबल विश्वभर फैलिएको कोभिड १९ का कारण स्थगित गरिएको थियो । उक्त फुटबल प्रतियोगिता यूकेको एल्डरशट टाउन फुटबल क्लब ईबीबी स्टेडियममा मे ६ बैंक होलिडेका दिन हुने भएको हो । उक्त क्लब बेलायतको व्यावसायिक फुटबल क्लब समेत् हो ।

क्लबका अध्यक्ष साहिद अजिमले गत सोमबार अल्डरसटस्थित ईबीबी रंगशाला परिसरमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिंदै नेपालबाट खेलाडी, कोच, फिजियो, अफिसियल गरि ३० जनाको टोली बेलायत जानेछन् । अप्रिल २९ मा नेपालको टिम बेलायत पुग्नेछ ।

बेलायतमा बसेर नेपाली राष्ट्रिय फुटबल टिमको संयोजन गरिरहेका कास्की फुटबल संघका युके एम्बासडर तथा तमु धीं युकेका उपाध्यक्ष कमल गुरुङले आयोजक क्लबका अध्यक्ष साहिद अजिमको भनाईलाई उद्दित गर्दै पोखरा स्पोर्टसलाई भने–“यो एक ऐतिहासिक क्षण हुनेछ । नेपालको ऐतिहासिक दौत्य सम्बन्ध अब खेलकुदबाट समेत बलियो बन्नेछ ।”

यो ऐतिहासिक खेलका लागि क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) इंग्ल्यान्ड फुटबल एसोसिएसनसँग समन्वय गरिरहेको गुरुङले जानकारी दिए । क्लबका अध्यक्ष साहिद नेपाली समुदायसँग निकट सहयोगी रहेको र उक्त क्लबले भूकम्पका बेला नेपालमा ३० हजार पाउन्ड खर्चेर दुई स्कुलसमेत पुनर्निर्माण गरिदिएको उनले जानकारी दिए ।

मैत्रीपूर्ण फुटबल आयोजना बारे जानकारी दिन क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा बेलायतस्थित नेपाली समुदायका विभिन्न संघसंस्थामा अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको जनाइएको छ । कार्यक्रममा एनआरएनए युकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, पुनम गुरुङ, तमु धीं युकेका पूर्वअध्यक्ष कमल गुरुङ, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, शिवकल्चरका अध्यक्ष विक्रम भट्टराई, जीआरएनसी अध्यक्ष मनबहादुर गुरुङ, काउन्सिलर जीव बेल्वासे, गोर्खा मिडियाको प्रबन्ध निर्देशक मिलन तमु, शीतलपाटीका प्रबन्ध निर्देशक वाचस्पति रेग्मीको सहभागिता रहेको थियो ।

यस्तै, सहारा युकेका पूर्वअध्यक्ष कुमार गुरुङ, तमु धीं युकेका महासचिव डा. विशाल गुरुङ, डी लन्जका सञ्चालक तुलाराम गुरुङ, तमु धीं युकेका युवाहरू, युवा व्यवसायी राजेन्द्र गुरुङलगायत पत्रकार सम्मेलनमा सहभागी थिए ।

मैत्रीपूर्ण फुटबल प्रतियोगिताले नेपाली राष्ट्रिय टोलीलाई अन्तर्राष्ट्रिय खेल मैदानमा आफ्नो प्रतिभालाई थप निखार ल्याउन सहयोग पुग्ने एन्फाले जनाएको छ । नेपाली राष्ट्रिय टोलीको ब्यवस्थापनको सम्पूर्ण खर्च आयोजकबाट हुने भएको र करिव ५० हजार पाउण्ड खर्च हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close