
पोखरा स्पोर्टस । बागमती अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता तेश्रो पटक सरेको छ ।
यहि चैत्र २ देखि ८ गते सम्म हुने भनिएको उक्त प्रतियोगिताको मिति तेश्रो पटक सरेको हो । प्रदेश खेलकुद विकास परिषद वागमतीको आयोजनामा हुने उक्त प्रतियोगिता यस अघि फागुनको तेश्रो साता हुने भनिएको थियो ।
परिषदको २४ गते बसेको कार्यकारी समितिको बैठकले प्रतियोगिताको मिति सार्ने निर्णय गरेको जानकारी गराएको छ । अब उक्त प्रतियोगिता चैत्र २५ गते देखि २०८१ वैशाख १ गते सम्म हुने भएको छ ।
पहिलो पटक प्रदेश–प्रदेश बीचको प्रतिस्पर्धा हुने उक्त प्रतियोगिताका लागि सबै प्रदेशहरुले खेलाडी छनौट प्रक्रिया सुरु भइसकेका थिए भने केही प्रदेशले अन्तिम तयारी समेत गरेका थिए ।
पोखरा स्पोर्टस संग कुरा गर्दै सदस्य सचिव सूर्य भण्डारीले केही प्रदेशहरुको तयारी नपुगेको संगै खेल मैदानहरुको मर्मत सम्भारका लागि समेत प्रतियोगिता सार्नु परेको बताएका छन् । मुलुकको बदलिंदो राजनितिक परिवेश पनि प्रतियोगिता सार्नु पर्ने स्थिती रहेको बताउँदै सदस्य सचिव भण्डारीले अब भने प्रतियोगिता सम्पन्न गर्ने गरी मिति निर्धारण गरिएको उनले बताए ।
बागमती राष्ट्रिय खेलकुद प्रतियोगितामा एथलेटिक्स, पौडी, ब्याडमिन्टन, कराते, तेक्वान्दो, भलिबल, फुटबल, क्रिकेट र बक्सिङ गरी ९ वटा खेलहरु समावेश गरिएको छ ।
