
पोखरा स्पोर्टस । पुन एकता क्लब पोखराले एक लाख पुरस्कार राशीको खुला बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
फागुन २२ देखि २६ गतेसम्म हुने प्रतियोगिता पुरुष, महिला र पुरुष भेट्रान्स गरी ३ विधामा सञ्चालन हुने क्लबले आईतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिएका छन् ।
प्रतियोगिताका लागि सोमबारसम्म टिम दर्ताको समय तोकिएको उनले जानकारी दिए । मंगलबार टाइसिट ड्र गरी बुधबारदेखि खेल सञ्चालन गरिनेछ ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमलाई १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक रनसिंह गर्बुजाले बताए । द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
भेट्रान्सतर्फ प्रथमले ३५ हजार र द्वितियले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
