
पोखरा स्पोर्टस । गण्डकीको महिला हक्की टोलीलाई उत्साह भर्न उमेन्स क्लब पोखराले खेल जर्शी प्रदान गरेको छ । पोखरामा शनिबार आयोजित एक कार्यक्रमका बीच क्लबले गण्डकीको महिला हक्की टोलीलाई जर्शी हस्तान्तरण गरेको हो ।
प्रथम मदन भण्डारी कप राष्ट्रिय हक्कीमा सहभागिता जनाउन गण्डकीको महिला टोली शनिबार धनुषा प्रस्थान गर्नु अघि क्लबले टोलीलाई शुभकामना सहित खेल जर्शी हस्तान्तरण गरेको क्लबकी अध्यक्ष सारिका गुरुङले जानकारी दिएकी छन् ।
पोखरामा रहेर विशेषतः खेल अभियान मार्फत विभिन्न कृयाकलाप गर्दै आएको उमेन्स क्लबले महिला खेलाडीहरुलाई जितको शुभकामना सहित खेल जर्शी उपलब्ध गराएको अध्यक्ष गुरुङले बताइन् । उनले भनिन्–“महिला खेलाडीहरुको हौसलाका लागि हामीले सानो सहयोग गरेका हौं । यो सहयोगले पक्कै पनि आगामी दिनमा महिला खेलाडीहरुको लागि केही गर्नुपर्छ भन्ने सबैमा सहकार्यको भावना समेत उजागर होस भन्ने अपेक्षा समेत गरेका छौं ।”
यहि फागुन १४ देखि १९ गते सम्म धनुषाको जनकपुरस्थित किशेस्वरनाथ माविको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउन गण्डकीको १५ खेलाडी १ व्यवस्थापक र एक प्रशिक्षक गरी १७ सदस्यिय टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
