फिफ्टिन्स रग्वी च्याम्पियनसिपको तयारी पुरा, चार टिमको सहभागिता

पोखरा स्पोर्टस । नेपाल रग्बी संघको आयोजनामा यहि फागुन ६ गते देखि १२ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा ’फिफ्टिन्स रग्वी च्याम्पियनसिप २०८०’ को आयोजना हुने भएको छ । प्रतियोगितामा तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी खेलकुद क्लब, एपीएफ क्लब र गोर्खाली रग्बी क्लबले सहभागिता जनाउने भएको हो ।

नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । उद्घाटन खेलमा गोर्खाली रग्बी क्लब र नेपाल प्रहरी खेलकुद क्लब भिड्ने भएका छन् भने दोस्रो खेलमा एपीएफ क्लब नेपाल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता फागुन ६ गते, ९ गते र १२ गते सञ्चालन हुनेछ ।

राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेतालाई संघले यस वर्षदेखि रनिङ ट्रफी प्रदान गर्न लागेको संघका अध्यक्ष दीपक देवकोटाले बताए । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्ने तथा प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ पाउनेछ ।

विदेशी खेलाडी
नेपाल रग्बी संघले हरेक वर्ष आयोजना गर्ने प्रतियोगिताको यो पाँचौं सस्करण हो । यसअघिको चारवटै संस्करण त्रिभुवन आर्मी क्लबले जितेको थियो । निकै रोमाञ्चक रुपमा टुंगिएको सो प्रतिस्पर्धामा त्रिभुवन आर्मीले अन्तिम सेकेन्डमा ’ट्राइ’ गर्दै गोर्खाली क्लबलाई पराजित गरेको थियो ।

तर यसपाली गोर्खाली क्लबले ट्रफी जित्ने गरी तयारी गरेको टिम कप्तान विक्रम पुरीले बताए । उनले भने, “यसपाली च्याम्पियन हुने लक्ष्यका साथ तयारी गरेका छौं। हामी त्यो लक्ष्यमा पुग्छौं ।”

त्यसका लागि गोर्खाली क्लबले ५ विदेशी खेलाडीहरुलाई बोलाएको गोर्खाली क्लबका मेनेजर सुरेन्द्र कुंवरले बताए । उनका अनुसार गोर्खाली प्रतियोगिता खेल्न जापान, भारत र इङ्ग्याण्डका खेलाडी नेपाल आइसकेका छन् भने दुई खेलाडी आउने क्रममा छ ।

नेपाल रग्बी संघका कोषाध्यक्ष दीपक अधिकारीले प्रतियोगितामा ५ विदेशी राख्न पाउने र त्यसमा एक पटकमा ३ खेलाडी मैदान प्रवेश गर्न पाउने नियम बनाइएको बताए । पत्रकार सम्मेलनमा सहभागि चारवटै टोलीले तयारी गरेको बताएका थिए ।

प्रतियोगितापछि राष्ट्रिय टिम निर्माण गर्ने नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले बताए । उनका अनुसार नेपालले बंगलादेशसंग रग्बी १५ को दुई देशिय प्रतियोगिता खेल्न नेपाल निम्त्याउन लागिएको छ। उक्त प्रतियोगिता आगामी बैशाख महिनामा गर्ने योजना बनाइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close