
पोखरा स्पोर्टस । पोखरामा जारी मनमोहन मेमोरियल कप राष्ट्रिय यू–१६ क्रिकेट प्रतियोगितामा मधेश प्रदेश र लुम्बिनीले आ–आफ्नो खेल जितेका छन् । पोखरा रंगशालामा जारी प्रतियोगितामा मधेश प्रदेशले सुदुर पश्चिम माथी ११ रनले जित हासिल गर्दा लुम्बिनीले आयोजक टोली मनमोहन मेमोरियल क्रिकेट एकेडेमी माथी ८५ रनले जित निकालेको हो ।

जित संगै सुमह बी बाट मधेश प्रदेश सेमीफाइनलको यात्रा तय गरेको छ । तर अर्को टोली कुन पुग्ने भन्ने भोली शुक्रबार हुने खेलले तय गर्ने आयोजकले जनाएको छ । भोली शुक्रबार लिग अन्तर्गतका अन्तिम खेलहरु सञ्चालन हुने गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमनराज कार्कीले जानकारी दिए ।
बिहिबार सम्पन्न पहिलो खेलमा मधेश प्रदेशले लुम्विनी प्रदेश माथी ११ रनले जित हासिल गरेको छ । टस जितेर ब्याटिङ रोजेका मधेशले निर्धारित २५ ओभरको खेलमा ८ विकेट गुमाउँदै १३५ रन बनायो । मधेशका लागि राहुल अन्सारीले ५८ बलमा ४९ रनको योगदान दिए भने मोहमद अरमानले ४२ र आदित्य मञ्डलले १५ रन जोडे । लुम्विनीका डम्वर माझीले उत्कृष्ट बलिङ गर्दै निर्धारित ५ ओभरमा १९ रन दिएर ६ विकेट हात पारे भने सचिन भट्ट र निराजन गौतमको खातामा १–१ विकेट जोडियो ।
१३६ रनको बिजयी लक्ष्य पछ्याएको सुदुर पश्चिम २४.४ ओभरमा सबै विकेट गुमाउँदै १२४ रन जोड्न सक्यो । सुदुर पश्चिमलाई धराशायी बनाउन मधेशका चन्दन रामले ४.४ ओभरमा १६ रन दिएर ५ विकेट हात पारे । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए । सुदुर पश्चिमका सचिन साउदले ४५, निराजन गौतमले २३ रन जोडे । मधेशका बलर अभय यादवले २ विकेट आफ्नो नाममा लेखाए ।
मनमोहन ११ संग लिग अन्तर्गतको खेलमा भिडेको लुम्विनीले टस जितेर २४ ओभरमा सबै विकेट गुमाउँदै १५१ रन बनायो । लुम्विनीका ब्याटर स्वस्तिक पराजुली र रौनक श्रीवास्तवले टिमका लागि समान ३४–३४ रनको योगदान दिए भने अजाजुल हकले २३ र आरिफ खानले १२ रन जोडे । मनमोहन ११ का लागि कृतिक ज्ञवालीले ४, सुसान्त पाण्डेले ३ र नितेश पटेलले २ विकेट लिए ।
जवाफी १५२ रन पछ्याएको मनमोहन ११ भने १३.४ ओभरमा १० विकेटको क्षतीमा जम्मा ६६ रन मात्रै बनाउन सक्यो । सुजन रोकायाले २० रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो रन छुन सकेनन् । लुम्विनीका बलर सागर गैरे, युजन शाही र करम जिएमले समान २–२ विकेट लिए । खेलमा लुम्बिनीका ब्याटर रौनक श्रीवास्ताव म्यान अफ दि म्याच हुँदै ट्रफी हात पारे ।
