एमएम कप राष्ट्रिय यू–१६ क्रिकेट : गण्डकी र बागमती अन्तिम चारमा

पोखरा स्पोर्टस । मनमोहन कप राष्ट्रिय यू–१६ पुरुष क्रिकेट प्रतियोगितामा समुह ‘ए’ बाट गण्डकी र बागमती अन्तिम चारमा प्रवेश गरेका छन् ।

मनमोेहन मेमोरियल क्रिकेट एकेडेमीको आयोजनामा पोखरामा जारी प्रतियोगितामा गण्डकीले २ खेलमा जित र एकमा हारका साथ रन रेटका आधारमा ४ अंक बटुल्दै सेमीफाइनल यात्रा तय गरेको हो । त्यस्तै बागमती समेत दुई खेलमा जित र एकमा हारका साथ समान ४ अंकका साथ समुहमा दोश्रो स्थान प्राप्त गर्दै सेमीफाइनलको यात्रा सुरक्षित गरेको छ ।

समुह ‘ए’बाट कर्णाली र कोशी प्रतियोगिताबाट बाहिएिका छन् ।

आजको पहिलो खेलमा कर्णालीले कोशी विरुद्धको खेल जितेको छ । टस जितेर व्याटिङ रोजेको कोशीले ७ विकेटको क्षतीमा १३७ रन बनायो । कोशीका लागि शिवांस बजगाईले ७० बलमा ५५ रनको पारी खेले । दिपु भुजेलले ३२ रनको योगदान दिंदा रविन मण्डलले २१ रन बनाए । कर्णालीका दिपेन खत्रीले ३ विकेट हात पारे ।

यत जवाफी व्याटिङ गर्दै १३८ रनको जितको लक्ष्य पछ्याएको कर्णालीले २४.३ ओभरमा जितको लक्ष्य भेट्टाएको थियो । आफ्नो पहिलो खेलमा जित दर्ता गर्दा कर्णालीका लागि अदित्य विक्रम शाह र बिर्जन न्यौपानेले समान २६–२६ रन जोडे भने दिपक खत्री नटआउट रहँदै २७ रन बनाए । कोशीका लागि प्रेम कामत र हार्दिक गोथियाले समान २–२ विकेट लिए ।

यता दोश्रो खेलमा घरेलु मैदानमा गण्डकी बागमती संग पराजित भएको छ । टस जितेर व्याटिङमा उत्रिएको गण्डकीले निर्धारित २५ ओभर खेल्दै ९ विकेटको क्षतीमा १५१ रन बनायो । गण्डकीका लागि सरोज बहादुर खत्रीले ४४ रन जोडे । सुदर्शन कोइरालाले ३५, सफल श्रेष्ठले २०, रोहित चन्दले २१ रन बनाए । बागमतीका लागि दिपेश शाह र शिव महतोले ५–५ ओभरको स्पेलमा समान २–२ विकेट लिए ।

यता बागमतीले १५२ रनको लक्ष्य २४.१ ओभरमा भेट्टायो । ८ विकेट गुमाउँदै भेट्टाएको लक्ष्य पार गर्न बागमतीका व्याटर रोहित शर्माले ५५ बल खेल्दै २ छक्का र ७ चौकाको मद्धतमा ६६ रनको पारी खेले । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए । बुद्धिमान विष्टले १९ र हिमाल बोहोराले १७ रन बनाए । गण्डकीका लागि रुपेश थापाले ३ विकेट लिंदा सोनु यादव र प्रकाश खनालले समान २–२ विकेट हात पारे ।

फागुन ७ सम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत वन डे फर्म्याट अन्तर्गत २५ ओभरका १५ खेलहरु (१२ लिग, २ सेमीफाइनल र १ फाइनल) संचालन हुनेछन् । लिग कम नकआउट अन्तर्गत हुने प्रतियोगिताको समूह ‘क’ मा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश छन् भने समूह ‘ख’मा मधेस, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल रहेका छन् ।

विजेता टिमले नगद रु. १ लाख नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमले रु. ५० हजार नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्स म्यान, उत्कृष्ट बलर र म्यान अफ द म्याचलाई खेल सामग्रीसहित नगद पुरस्कार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close