
पोखरा स्पोर्टस । पोखराको ड्याम साइड क्लवको आयोजनामा आज (मंगलबार) देखि अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० सुरु भएको छ । पोखरा ड्यामसाइड स्थित गण्डकी प्रदेश प्रहरी गणको खेल मैदानमा मंगलबार भएको उद्घाटन खेलमा शान्ति निकुञ्ज स्कुलले जित हासिल गरेको हो ।

शान्ति निकुञ्जले पोखरा किन्डर गार्डेन (पि.के.जी.) लाई १—० को झिनो गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । शान्ति निकुञ्जको जितमा प्रशन्न थापाले निर्णायक एक गोल गरे । खेलमा उनी म्यान अफ दी म्याच समेत घोषित भए ।
त्यसै गरी मंगलबार नै भएको अर्को खेलमा शिशु कल्याण स्कुलले र पोखरा स्पाइरल स्कुललाई २—० ले पराजित गरेको छ । शिशु कल्याणको जितमा क्रिशल थापाले २ गोलको योगदान दिदा खेलमा उनी म्यान अफ दी म्याच समेत घोषित भए । भोलि देखि पहिलो चरणका खेलहरु हुने भएको छ ।
यसैबिच, यही फागुन ६ गतेसम्म संचालन हुने तेश्रो संस्करणको उक्त प्रतियोगिताको मंगलबार उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष राधिका शाही योगीले फुटवल खेलको विकासको लागि उक्त प्रतियोगिताले टेवा पुग्ने विश्वास व्यक्त गरिन् । क्लवका अध्यक्ष प्रताप गुरुङको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो ।
पोखरा महानगरपालिकाको सहयोग तथा पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रबद्र्धनमा भएको प्रतियोगितामा पोखरा १७ स्थित वडामा रहेका सामुदायिक तथा निजी गरी १९ वटा बिद्यालयहरुको सहभागिता रहेकोे पूर्व अध्यक्ष पदम ढकालले बताए ।
६ दिनसम्म चल्ने प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र शान्त्वना हुने टिमले भने ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने भएको महासचिव राकेश श्रेष्ठले बताए । प्रतियोगितामा सर्वोत्कृष्ट सहित सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेण्स, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट स्टाइकर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई समेत ट्रफी प्रंदान गरिने भएको छ ।
प्रतियोगिताको गत बर्षको विजेता छोरेपाटन मावि हो । फुटवल खेलको तल्लो स्तरबाटै विकास गर्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको क्लवका बरिष्ठ उपाध्यक्ष रमेश प्रसाद बरालले बताए ।
