
पोखरा स्पोर्टस । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत खेल पत्रकार सुदर्शन रञ्जितलाई एनएसजेएफ स्पेसियल अवार्ड २०७९ प्रदान गरिएको छ ।
खेलकुद पत्रकार मञ्चले आइतबार आयोजना गरेको अवार्ड हस्तान्तरण समारोहमा पोखराका पत्रकार रञ्जितलाई यो अवार्ड प्रदान गरिएको हो ।
उनलाई पोखरामा चिन्नेहरुले फोटो पत्रकार भन्छन् । अनि अलि नजिकबाट चिन्नेहरुले सहारा क्लबका एक सदस्य । उनी फोटो पत्रकार, खेलकुदका एक सिपाही अनि पोखरेली अभियन्ता हुन् । चार दशक भन्दा बढी पोखरामा हुने खेलकुद गतिविधिमा उनको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको छ ।
रञ्जित खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य समेत हुन् । उनी यस अघि सो संस्थाको सल्लाहकार समेत रही सकेका छन् । खेल फोटो पत्रकार रञ्जित विशेष गरी आफ्नो क्यामेराको लेन्सद्वारा विश्वलाई पोखराको खेलकुदलाई स्थापित गर्न भूमिका खेलेका छन् । सम्मानबाट संधै टाढा भाग्ने रञ्जित लामो समय पछि सम्मानित भएका छन् ।
माछापुच्छ्रेको आवरणमा एक बालकले क्रिकेट खेल्दै गरेको तस्वीरले सन् २००८ मा आइसीसीको वर्ष उत्कृष्ट तस्वीर अन्तर्राष्ट्रिय अवार्ड पाएको थियो । ६० वर्षको उमेर पनि उत्तिकै जोस जाँगरका साथ पोखरेली खेलकुदको अभिन्न अंग बनेका रञ्जितलाई एनएसजेएफले स्पेसल अवार्डबाट सम्मान गरेको हो ।
रञ्जितलाई नेपाल टेलिभिजनका अध्यक्ष समीर जंग शाह र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले हस्तान्तर गरेका थिए ।
नेप्लेजटडटकमको सहयोगमा
