
पोखरा स्पोर्टस । गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाको गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आले मगरले उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै मन्त्री मगरले पछिल्लो समय नेपाली समाज नकरात्मकतर्फ उन्मुख भएकोप्रति चिन्ता व्यक्त गरे । पछिल्लो समय हरेक कुरालाई नकरात्मक तरिकाले मात्रै लिने गरिएको भन्दै नकरात्मकता भित्र पनि सकरात्मक बिषयबस्तु ओल्याउन आवश्यक रहेको उनको भनाई थियो ।
प्रदेश सरकारले सिमित श्रोत साधनका कारण खेलकुदका विभिन्न गतिविधिमा मन फुकाएर सहभागि हुन नसकेपनि केही न केही हिसाबले जोडिइरहेको बताए । उनले भने, ‘हामीसँग सिमिति श्रोत साधन छ, मन फुकाएर सहभागि हुन नसकेको भएपनि केही न केही हिसावले जोडिइरहेका छौं । संघ, प्रदेशमा खेलकुद मन्त्रालय छ तर अपेक्षा अनुसारको बजेट विनियोजन भएको छैन्, आगामी दिनमा पनि यसलाई कसरी सम्बोधन गर्न सक्छौं त्यसमा हाम्रो प्रयास रहनेछ ।’
गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङले नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन तेक्वान्दो खेलको ठूलो भूमिका रहेको बताए । संघले पोखरामा सम्पन्न गरेको माउण्ट एभरेष्ट च्याम्पियनसिपले सुस्ताएको पोखराको पर्यटन प्रर्वद्धनमा पुर्याएको योगदानको भने खुलेर प्रशंसा गरे । खेल क्षेत्रको विकासमा अरुले केही गरेन भन्नुभन्दापनि यसको विकास र विस्तार गर्न सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा संघका महासचिव दिपराज गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी बाशुदेव अधिकारी, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङ लगायतले बोलेका थिए ।
साधारण सभा तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष जगन बहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।
