नवलपुरमा राष्ट्रिय खुल्ला कायाकिङ प्रतियोगिता सम्पन्न, पूर्वाछाने बने बिजेता

पोखरा स्पोर्टस । नवलपुरलाई सहाशीक खेलकुदको गन्तव्य बनाउने उद्धेश्यका साथ प्रदेश खेलकुद परिषद गण्डकीद्वारा आयोजना तथा जिल्ला खेलकुद विकास समिति नवलपुरको समन्वयमा राष्ट्रिय खुल्ला कायाकिङ प्रतियोगिता सम्पन्न भएको छ ।

पहिलो पटक नारायणी नदीमा आयोजित उक्त प्रतियोगितामा १९ जना प्रतिस्पर्धीलाई उछिन्दै डम्वर बहादुर पूर्वाछाने बिजेता बनेका छन् । नवलपुरको कावासोती नगरपालिकाको नारायणी नदीको अमलटारी घाटबाट मध्यविन्दु नगरपालिकाको नन्दपुर सम्म आयोजित १२ किलोमिटर कायाकिङमा ३५ मिनेट ३८.३० सेकेण्डमा दुरी पार गर्दै बिजेता बनेका हुन् ।

बिजेता बने संगै पूर्वाछानेले नगद रु ४० हजारसहित मेडल तथा प्रमाणपत्र हात पारे ।

प्रतियोगितामा ३६ मिनेट १०.३० सेकेण्डमा दुरी पार गरेका दिपेश राना मगर दोश्रो हुँदा तेश्रो भएका बिजय गुरुङले ३७ मिनेट २१.३० सेकेण्डमा दुरी पार गरे । दोश्रो भएका दिपेशले नगद २५ हजार र तेश्रो भएका विजयले नगद रु १५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेको कार्यालय प्रुमुख तोपलाल भुसालले जानकारी दिए ।

यस्तै प्रतियोगितामा शक्तिकुमार गुरुङ चौथो र रविन गुरुङ पाँचौ स्थान प्राप्त गरे । उनीहरुले क्रमश नगद रु १० हजार ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस अघि प्रतियोगिताको समापन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले हिमाल, पहाड र तराई तिनै क्षेत्रलाई सहाशिक खेलकुदको गन्तव्यको रुपमा जोड्न परिषदले योजनावद्धरुमा अघि बढेको बताए । उनले भने–“गण्डकी प्रदेशका सबै ठूला नदीहरुलाई खेलकुदको माध्यमबाट जोड्दै वाटर स्पोर्टस हबको रुपमा विकास गर्न परिषदको योजना छ । धार्मिक रुपमा समेत उत्तिकै प्रख्यात नदीहरु अब खेलकुदको हबको रुपमा बिकास गर्ने तयारी परिषदको छ ।”

पहिलो पटक नारायणी नदीमा कायाकिङ खेलको सुरुवात भएको जनाउँदै सदस्य सचिव शर्माले अबको एक साता पछि काली गण्डकीमा नदीमा र्‍याफ्टिङ प्रतियोगिता सञ्चालन हुने जानकारी दिए ।

परिषदका सदस्य एवं सहाशीक खेलकुदका समितिका संयोजक बसन्तराज दवाडीको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाली र्‍याफटिङ खेलका मुख्य प्रशिक्षक एवं प्रतियोगिताका प्राविधिक संयोजक निम बहादुर मगर, जिल्ला खेलकुदका अध्यक्ष सेत बहादुर पुन, नन्द भाउजु उपभोक्त समितिका अध्यक्ष दोमन बहादुर भण्डारीलगायतले आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close