राष्ट्रिय प्रोफेसनल आइटिएफमा सुस्मिता र रिक्साङ च्याम्पियन

पोखरा स्पोर्टस । नेपाल पुलिस क्लबकी सुस्मिता थापा र बागमती प्रदेशका रिक्साङ तामाङ आठौं राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइटिएफ च्याम्पियनसिपमा च्याम्पियन भएका छन् ।

रामेछाप आइटिएफ तेक्वान्दो संघको आयोजना तथा खाँडादेवी गाउँपालिका र खाँडादेवी गाउँपालिकाको वडा–७ को सहआयोजनामा भएको प्रतियोगितामा सुस्मिता महिलामा र रिक्साङ पुरुषतर्फ च्याम्पियन भएका हुन् । सुस्मिता र रिक्साङले च्याम्पियन ट्रफीका साथै ५० हजार रुपैयाँ नगद प्राप्त गरेको आयोजक रामेछाप आइटिएफ तेक्वान्दो संघका सचिव सपूत मोक्तानले जानकारी दिए ।

सुस्मिताले फाइनलमा कोशी प्रदेशकी कुसुम राजवंशीलाई हराइन् । रिक्साङले भने फाइनलमा आयोजकका निर्मल लामालाई पराजित गरे । दोस्रो स्थानमा सीमित कुसुम र निर्मलले ४० हजार रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाउनु पर्‍यो ।

पुरुषतर्फ नेपाल पुलिस क्लबका श्रीप्रसाद बुढाले तेस्रो स्थान प्राप्त गरे । महिलामा भने आर्मीकी निकिता धिमाल तेस्रो भइन् । यी दुवैले नगद ३० हजार रुपैयाँ, ट्रफी र पदक प्राप्त गरे । प्रतियोगिताका विजेतालाई खाडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, वडा–७ का अध्यक्ष सिरे तामाङले पुरस्कृत गरेका थिए । उक्त कार्यक्रमका प्रमुख अथिति खाडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमारले देशमा खेल क्षेत्र विकासका लागि हरेक स्थानीय तहको भूमिका अहम् हुने र त्यसका लागि सबै स्थानीय तहले प्रयत्न गर्नुपर्ने आवश्यक औंल्याए ।

कार्यक्रमको अध्यक्षता गर्नु भएको वडा–७ का अध्यक्ष सिरे तामाङले आफ्नो वडाले खेलाडीहरूलाई प्रोत्साहका साथै खेलकुद विकासका कामहरू गरिरहेको उल्लेख गर्दै आगामी वर्षहरूमा पनि प्रोफेसनल आइटिएफ तेक्वान्दो खेल प्रतिस्पर्धालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतियोगितामा आयोजक, सात प्रदेशका साथै तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टोलीले छनोटबाट समान दुई पुरुष र दुई महिला खेलाडी मात्र प्रतिस्पर्धा गराउन पाउने प्रावधानअनुरूप प्रतिस्पर्धा गरेको आयोजक रामेछाप आइटिएफ तेक्वान्दो संघका सचिव सपूत मोक्तानले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य एवम् दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघका उपाध्यक्ष अन्जन धमला, नेपाली राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक विष्ट र नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले गरेका थिए ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ भएको प्रतियोगितामा देशभरका ४४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । संघका अध्यक्ष धनराज मोक्तानको सञ्चालनमा भएको प्रतियोगितामा महिलातर्पm ४७ देखि ५५ र पुरुषमा ५० देखि ५७ केजी तौलसमूहका खेलाडीले प्रोफेसनल आइटिएफ तेक्वान्दोमा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close