
पोखरा स्पोर्टस । नेपाल टेनिस संघको आयोजनामा जे ६० केटीएम जुनियर वर्ल्ड र्याङकिङ टेनिस प्रतियोगिताको सर्किट–१ सोमबारदेखि सुरु हुने भएको छ ।
प्रतियोगितामा नेपालसहित १५ राष्ट्रको सहभागिता रहने आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् । सर्किट–१ को मुख्य ‘ड्र’ का लागि शनिबार र आइतबार छनोट चरणका खेल हुनेछ ।
छनोट चरणमा ब्वाइजतर्फ ६४ र गर्ल्समा ५२ खेलाडीको सहभागिता रहने छ । छनोट चरणबाट ब्वाइज/गर्ल्समा समान ३२–३२ खेलाडी मुख्य ‘ड्र’ मा प्रवेश गर्ने छन् ।
ब्वाइज/गर्ल्स सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुनेछ । ६ दिन सम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछन् ।
निर्देशक विष्टले प्रतियोगिताले पर्यटन क्षेत्रलाई उकास्न टेवा पुर्याउने बताउदै देशको अर्थतन्त्रमा थोरै भएपनि सहयोग पुग्ने बताए । सर्किट– २ माघ ५ गतेदेखि सुरु हुनेछ ।
