
पोखरा स्पोर्टस । सुदुर पश्चिममा आयोजना हुने तेश्रो राष्ट्रिय मुख्यमन्त्री कप भलिबलमा सहभागि हुने गण्डकी प्रदेश टिमको घोषणा गरिएको छ ।
माघ १४ देखि २० गते सम्म सुदुरपश्चिम प्रदेश कैलालीको धनगढीमा सञ्चालन हुने उक्त प्रतियोगितामा टिमको कप्तानी खोमप्रसाद पाण्डे (हरि)ले सम्हाल्ने भएका हुन् ।
गण्डकी प्रदेश भलिबल संघले छनौट गरेका खेलाडीमा सुजन चोखाल, बिबस आले मगर, हिमाल सुनारी, इन्द्र बहादुर बि.क, विश्वास अधिकारी, रवि के.सी, सरोज बर्देवा, घनश्याम चौधरी, कुञ्जन शाही ठकुरी, जिवन सुनार, किरण गुरौ, सन्तोष बि.क र राजन दर्लामी मगर रहेका छन् ।
यसै गरी टिमको प्रशिक्षकमा रमेश केसी. र टिम व्यवस्थापकमा जिवन भण्डारी रहेका छन् ।
टिमका दुई सदस्यहरु भने करिव चार महिना पछि टिममा फर्किएको टिम व्यवस्थापक जिवन भण्डारीले पोखरा स्पोर्टसलाई जानकारी दिए । घुँडामा चोट बोकेका घनश्याम चौधरी चार महिनाको उपचार पश्चात टिममा कमब्याक गरेका छन् भने आफ्नो घरायसी काममा विदा बसेका राजन दर्लामी समेत टिममा फर्किएपछि गण्डकीको टिम औसत रुपमा बलियो भएको व्यवस्थापक भण्डारीले बताए ।
उक्त प्रतियोगिताको दोश्रो सस्करणमा गण्डकीले तेश्रो स्थान प्राप्त गरेको थियो ।
यता प्रदेश खेलकुद परिषद गण्डकीले गण्डकी प्रदेश भित्र बसोबास गर्ने खेलाडीहरु विभागिय टिम बाहेक अन्यत्र प्रदेशबाट बिना स्विकृती वा सहमती नलिई खेलेमा त्यस्ता खेलाडीहरुलाई अवसरबाट वञ्चित गर्ने जनाएको छ ।
सो बारे जानकारी दिंदै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले प्रदेशका खेलाडी अन्य प्रदेशबाट खेल्न रोक लगाएको बताएका छन् । उनले भने–“हामीले छनौटमा बोलाउँदा नआउने अनि अन्य प्रदेशबाट विना सहमती र पूर्व स्विकृती नलिई खेलेमा परिषदले ति प्रदेशहरुमा समेत खेलाडीहरुलाई टिममा समावेश नर्गन पत्रचार गरेका छौं ।” यो विषय कुनै एक खेलका लागि मात्रै नभई सबै खेलहरुमा लागु हुने सदस्य सचिव शर्माको भनाई छ ।
