
पोखरा स्पोर्टस । २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । माघ ९ गतेदेखि २० गते पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक सहारा क्लबले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

उक्त प्रतियोगितामा १२ टिमले सहभागी जनाउँदै छन् । प्रतियोगितामा भुटानको राष्ट्रिय लिग बिजेता क्लब पारो एफसीसहित साबिक विजेता सङ्कटा यूथ क्लब, आयोजक सहारा क्लब, नेपालका ‘ए’ डिभिजनका क्लबहरु संकटा यूथ क्लब, चर्च ब्वाइज क्लब, मछिन्द्र एफसी, पोखरामा लोकप्रिय क्लबको रुपमा रहेको मनाङ मर्स्याङदी क्लब, जावलाखेल यूथ क्लब र थ्रि स्टारको सहभागिता हुने छ भने विभागिय क्लब नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबसमेतको सहभागिता रहनेछ । त्यसै गरी सुनवलको राइजिङ स्टार क्लबको समेत पहिलो पटक प्रतियोगितामा सहभागिता रहने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिएका छन् ।
यसअघि आहा रारा पोखरा गोल्डकपमा भारतीय लिगको सातौँ स्थानमा रहेको दिल्ली एफसी सहभागी हुने बताइए पनि अन्तिम समयमा आउन नसक्ने बताएपछि विभागीय टिम एपीएफ भित्रिएको छ ।
प्रतियोगितामा पुरस्कार तथा प्रोत्साहनमै करिब २८ लाख ३२ हजार ५५५ रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उपाधि बिजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । त्यस्तै प्रत्येक खेलबापत अतिरिक्त प्रोत्साहन अनुरुप प्रि–क्वाटर विजेता र पराजित दुवै टिमले समान २० हजार रुपैयाँका दरले प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।
क्वार्टरफाइनलमा बिजेता र पराजित दुबै टिमले समान ३० हजार रुपैयाँ र सेमिफाइनलमा बिजेता र पराजित दुवै टिमले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्येश्यका साथ आयोजित उक्त प्रतियोगितालाई हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रयोजन गरेको छ ।
प्रतियोगिताको कुल अनुमानित आम्दानी १ करोड ८६ लाख ७५ हजार रुपैया र कुल अनुमानित खर्च १ करोड ४९ लाख ३ हजार रुपैयाँ रहेको संस्थाका महासचिब रामजी प्रसाद अधिकारीले जनाएका छन् ।
प्रतियोगितामा बचत हुने रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी.स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । विगत २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी पोखरा—१७, दोविल्लामा प्रदान गर्दै आईरहेको छ । हाल चौँथो व्याचको एकेडेमीमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन ।
२२औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०७९ को विजेता संकटा क्लब काठमाण्डौं र उपविजेता भुटनिज युथ स्पोर्ट्स क्लब, अमेरिका रहेको थियो ।
सम्पन्न पत्रकार सम्मेलनमा सहारा युकेद्वारा हरेक वर्ष प्रदान गरिंदै आएको ट्रफीहरु समेत अध्यक्ष बराललाई हस्तान्तरण गरिएको थियो ।
यसै बिच राष्ट्रिय खेलकुद परिषदले २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप सञ्चालनका लागि निशुल्क रुपमा रंगशाला प्रदान गरिने राखेपका सदस्य राजेश कुमार गुरुङले जानकारी दिएका छन् । जिल्ला खेलकुद विकास समिति कास्कीको व्यवस्थापनमा रहेको पोखरा रंगशाला अन्तर्राष्ट्रिय प्रतियोगिताकोका लागि दैनिक ५० हजार शुल्क लाग्ने समितिले निर्णय गरेको थियो ।
तस्विर : एफएनपिजे कास्की
