टाइगर कप भलिबल : महिलातर्फ एपिएफद्वारा उपाधिमा ह्याट्रिक, पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन

एपिएफकी निरुता ठगुन्ना र टिपटपका फकर उद्धिन सर्वोत्कृष्ट खेलाडी

पोखरा स्पोर्टस । पोखरामा सम्पन्न चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ विभागिय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधिमा ह्याट्रीक गरेको छ भने पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले उपाधि जितेको छ ।

शनिबार सम्पन्न महिलातर्फको फाइनलमा चन्द्रागिरी न्यु डायमण्ड क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो पटक लगातार उपाधि जितेको हो । यो जित संगै एपिएफले उपाधिमा ह्याट्रिक गरेको छ । पहिलो सेट एपीएफले २५–२० र दोस्रो सेट २५–१८ तथा तेस्रो सेट २५–२१ ले जित्दै एपिएफले नगद रु ५ लाख ५५ हजार ५५५ प्राप्त गर्न सफल भएको छ । उपबिजेता न्यू डायमण्डले नगद रु २ लाख ५५ हजार ५५५ प्राप्त गर्न सफल भएको छ ।

यता पुरुषतर्फ भने टिपटप हेल्प नेपाल स्पोर्टस क्लब काठमाण्डौ च्याम्पियन भएको छ । तीन जना भारतिय खेलाडी सम्मिलित डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघलाई तीन जना पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपाल स्पोर्टस क्लबले ३–१ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन भएको हो । खेलमा पहिलो सेट २५–१३ ले जितेको हेल्प नेपालले दोश्रो सेट २५–१८ ले जित्दै दवाबमा राखे पनि तेश्रो सेटमा खेलमा पुनरागमन गर्दै गण्डकीले २६–२५ ले जित्यो तर चौथो सेट हेल्प नेपालले २५–१७ ले सहज जित दर्ता गर्दै पहिलो पटक उपाधि समेत जितेको छ । खेलका सबै मोमेन्टमहरु आफ्नो पक्षमा पारेको हेल्प नेपालको रणनितीलाई चिर्न नसक्दा गण्डकी उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ ।

च्याम्पियन भए संगै हेल्प नेपाल स्पोर्टस क्लबले नगद रु ५ लाख ५५ हजार ५५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता गण्डकीले नगद रु २ लाख ५५ हजार ५५५ प्राप्त गरेको छ ।

यसै गरी पुरुषतर्फ सशस्त्र प्रहरीको एपिएफ क्लबले तेश्रो स्थान प्राप्त गरेको छ । शनिबार नै सम्पन्न तेश्रो स्थानको खेलमा पाहुना टोली श्रीलंका आर्मी टिमलाई सोझो ३–० सेटमा पराजित गरेको छ । पहिलो सेट २५–२३, दोश्रो सेट २५–२१ र तेश्रो सेट २७–२५ ले जित्दै प्रतियोगितामा तेश्रो स्थान प्राप्त गरे संगै नगद रु १ लाख २५ हजार ५५५ को हात पारेको छ ।

प्रतियोगितामा महिलातर्फ एपिएफ क्लबकी निरुता ठगुन्ना र पुरुषतर्फ टिपटप हेल्प नेपालका फकर उद्धिन घोषित भएका छन् । फकर उद्धिन पाकीस्तानी खेलाडी हुन् । उनीहरुले ट्रफीका साथमा जनही नगद रु २५ हजार ५५५ प्राप्त गरे ।

यसै गरी विद्यागत रुपमा उत्कृष्ट स्पाइकरमा एपिएफकी सरस्वती चौधरी, उत्कृष्ट सेटरमा एपिएफकी जस्मिता महतो, उत्कृष्ट सर्भरमा न्यू डायमण्डकी बालमिका आचार्य, उत्कृष्ट ब्लकरमा आर्मीकी सुनिता खड्का, र उत्कृष्ट डिफेन्डरमा न्यू डायमण्डकी सलिना श्रेष्ठ भए भने उत्कृष्ट प्रशिक्षकमा एपिएफका महेश चौधरी घोषित भए । उनीहरुले जनही नगद १५ हजार बराबरको गिफ्ट ह्याम्परका साथमा ट्रफी प्राप्त गरेका छन् ।

त्यसै गरी पुरुषतर्फ उत्कृष्ट स्पाइकरमा टिप टप हेल्प नेपालका पाकीस्तानी खेलाडी मजहर अली, सोही टिमका पाकीस्तानी खेलाडी मोहमद काशिफ उत्कृष्ट सेटर हुँदा सोही टिमका दिपक थापा घोषित भए । त्यसै गरी उत्कृष्ट सर्भरमा गण्डकीका हिमाल सुनारी घोषित हुँदा उत्कृष्ट ब्लकरमा गण्डकीकै भारतीय खेलाडी रामास्वामी आङ्गामुथु घोषित भए भने पुरुष तर्फ टिपटप हेल्प नेपालका प्रशिक्षक उत्सव खडका घोषित भए । उनीहरुले जनही नगद १५ हजार बराबरको गिफ्ट ह्याम्परका साथमा ट्रफी प्राप्त गरेका छन् ।

गत माघ १ गतेबाट सञ्चालित चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लबस्तरिय प्रतियोगितामा महिला र पुरुष गरी १२ टिमको सहभागिता रहेको थियो । लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा महिलातर्फ एक भारतीय र पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले सहभागिता जनाएका थिए ।

बिजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङ, प्रदेश खेलकुदका सदस्य सचिब श्रीधर शर्मा, पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, केल्मी नेपालका उत्तम न्यौपानेलगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

समापन कार्यक्रम टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । उनले चौथो टाइगर कप भलिबल प्रतिोगिता सम्पन्न गर्न सहयोग गर्ने विभिन्न संघ संस्था, देश विदेशका महानुभाव लगायतलाई आभार प्रकट गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close