पोखरा वडा नं १५ को खेलकुद महोत्सब भब्य रुपमा सम्पन्न, एक हजार २ सय बढिको सहभागिता

पोखरा स्पोर्टस । पोखरा महानगरपालिका वडा नं १५ मा जारी दोस्रो बृहत् खेलकुद महोत्सव भब्यताका साथ सम्पन्न भएको छ। वडा कायालयले आयोजना गरेको वडास्तरिय दोस्रो बृहत् खेलकुद महोत्सव शुक्रवार सम्पन्न भएको हो ।

शुक्रवार सम्पन्न क्लब तथा टोल स्तरीय फुटबल खेलमा श्री–१५ (फलेपाटन) ले गलेश्वर टोललाई ३–० ले पराजित गर्‍यो । गत वर्ष क्वाटर फाइनलमा गलेश्वरलाई पेनाल्टीमा हराएको श्री–१५ ले यस वर्ष फाइनलमा गलेश्वर विरुद्ध ३–० को फराकिलो जित निकालेको हो ।

टोल तथा क्लब स्तरीय फुटबलको फाइनल खेलसँगै पोखरा–१५ ले विभिन्न ९ विधामा आयोजना गरेको खेलकुद महोत्सव सम्पन्न भएको छ । खेल सम्पन्न लगत्तै विजेता टोलीलाई नगद, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपमेयर मंजुदेवी गुरुङले वडा नं–१५ ले आयोजना गरेको दोस्रो संस्करणको बृहत् खेलकुद महोत्सव पूर्ण रूपमा सफल भएको बताइन् । आगामी वर्षमा पनि यस किसिमको महत्त्वपूर्ण अवसरलाई निरन्तरता दिन आग्रह गर्दै वडाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेकोमा धन्यवाद दिइन् ।

खेलकुद युवाहरूका लागि मात्र नभएर खेल सबैका लागि आवश्यक रहेको बताउँदै उपमेयर गुरुङले खेलले शारीरिक र मानसिक विकास गर्ने बताइन् । मानिस शारीरिक र मानसिक रूपमा स्वस्थ रहे मात्र विचार र आचरण पनि स्वस्थ हुने भन्दै ‘जुन पालिकामा जुन देशमा स्वस्थ जनशक्ति हुन्छ त्यो ठाउँको विकासले पनि गति लिन्छ’ गुरुङले भनिन् ।

यस्तै समापन कार्यक्रमका अतिथि तथा पोखरा १४ का वडाध्यक्ष बोध बहादुर कार्कीले विजयी खेलाडी टिमलाई बधाई दिए। उनले वडाहरू बिच हातेमालो गर्दै सहकार्य गरेर अगाडि बढ्नुपर्ने भन्दै वडा नं–१५ ले आयोजना गरेको खेल महोत्सवको सिको गर्दै आफ्नो वडामा पनि यस किसिमको प्रतियोगिता सञ्चालन गर्ने बताए ।

खेल महोत्सवका संयोजक आशिष भण्डारीले सम्पूर्ण वडावासी, खेलाडी तथा शुभेक्छुकहरूको सहयोगका कारण चार दिनसम्म भएको खेल महोत्सव सफलता पूर्वक सम्पन्न भएको बताए । उनले यस वर्ष भएका कमीकमजोरीहरू बाट पाठ सिक्दै आगामी वर्ष अझ तयारीका साथ खेल महोत्सवलाई निरन्तरता दिइने बताए ।

यस्तै कार्यक्रमका सभाध्यक्ष तथा १५ नं वडाका वडाध्यक्ष तोरण बानियाँले खेलकुद कार्यक्रमले वडावासीमा आपसी सद्भाव कायम राख्नुका साथै मित्रता बढेको बताए। उनले गत वर्ष खेलकुद महोत्सवमा सहभागी टिमबाट छनौट गरेका खेलाडीले महानगरस्तरीय मेयर कपमा उपविजेता, महिला भलिबलमा तेस्रो र ब्याडमिन्टनमा पुरुषतर्फ दोस्रो र महिलातर्फ तेस्रो बनेको भन्दै यस किसिमको खेल आयोजनाले समग्र वडालाई बलियो टिमको रूपमा चिनाएको बताए ।

खेल महोत्सवको समापन कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरू, राजनीतिक दल, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको उपस्थित रहेको थियो । कार्यक्रममा जनशक्ति टोलका महिलाले नाच प्रस्तुत गरेका थिए ।

कार्यपालिका सदस्य मन्दिरा परियारले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य बलराम पौडेलले स्वागत मन्तव्य राखेका थिए ।

चार दिन सम्म सञ्चालन भएको खेलकुद महोत्सवमा विभिन्न आमा समुहहरु लगायत विभिन्न खेलमा सहभागि यूवाहरु गरी १ हजार २ सय भन्दा बढि सहभागि भएको वडा अध्यक्ष तोरण बहादुर बाँनियाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close