
पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल संघबाट समावेश हुने भनिएका तीन इरानी खेलाडी पोखरा आउने कार्यक्रम अन्तिम समयमा आएर रद्ध भएको छ ।
यहि माघ १ गते देखि सुरु हुने ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’ मा गण्डकीको टिममा सहभागि हुने भनिएका इरानी खेलाडी नआउने भए पछि संघले तीन भारतीय खेलाडीलाई टिममा समावेश गरेको छ ।

पहिलो र तेश्रो संस्करणको उपाधि विजेता समेत रहेको गण्डकीको पुरुष टिमलाई उपाधि रक्षा गर्ने चुनौती संगै तीन अनुभवी भारतीय खेलाडी समावेश गरिएको गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन कुमार गुरुङले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“इरानी खेलाडी आउटडोर खेल मैदानमा नखेल्ने जानकारी दिए संगै हामीले भारतीय खेलाडीहरुलाई टिममा समावेश गरेका छौं । हामीलाई उपाधि रक्षाको चुनौती छ भने टिमको प्रदर्शनलाई समेत सुधार गर्नुछ ।”
गण्डकीको टिममा समावेश हुने तीनै जना खेलाडी भारतका प्रोभलिबल खेलाडीहरु हुन् । भारतीय खेलाडीहरुमा रामास्वामी आङ्गामुथु, अमित गुलिया र अप्धु मुथुस्वामी रहेका छन् । तीनै जना भारतीय राष्ट्रिय टोलीका खेलाडी हुन् । उनीहरु हालै चिनमा सम्पन्न १९ औं एसियाली खेलकुदमा भारतीय टिममा समावेश थिए । आङ्गामुथु र अप्धु स्वामी अहमदावादका हुन् । उनीहरु हैदराबाद ब्ल्याक हक्सबाट प्रो लिग खेल्ने गरेका छन् भने अमित गुलिया हरियाणाका हुन् ।
गत वर्ष उपाधि जित्दा समेत् गण्डकीको पुरुष टिममा तीनजना भारतीय खेलाडी समावेश थिए । भारतीय खेलाडीहरुको संयोजन गरिरहेका यूवराज भण्डारीले सहभागि खेलाडी तीनै जना भारतीय राष्ट्रिय टोलीको सेट टिमका खेलाडी रहेको पोखरा स्पोर्टसलाई जानकारी दिए ।
त्यस्तै गण्डकीको महिला टिमबाट समेत तीन जना भारतीय खेलाडी समावेश हुनेछन । भारतीय खेलाडीहरुमा रबिना, अनन्या राय र कुन्जना सिंह छन् । तीन जना खेलाडी १९ औं एसियाली खेलकुदमा २४ जनाको क्लोज क्याम्पमा परेका खेलाडी हुन् ।
नेपाल भलिबल संघको स्विकृतीमा हुने चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लव पोखरा आउने भएको छ । महिलातर्फ नै चन्द्रागिरी नगर पालिका न्यू डायमण्ड स्पोर्टस क्लव, आयोजक गण्डकी प्रदेश संगै तिन विभागिय टोली नेपाल पुलिस, नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लवले सहभागिता जनाउने छन् ।
त्यसै गरी पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक सहभागिता जनाउने छ । प्रतियोगितामा सहभागि हेल्प नेपाल स्पोर्टस क्लवले समेत ३ जना पाकिस्तानी खेलाडी टिममा भित्राएको छ । पुरुषतर्फ तिन विभागिय टोली नेपाली सेनाको त्रिभुवन क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लवले सहभागिता जनाउने छन् ।
तेस्रो संस्करणको उपाधि पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ शसस्त्र प्रहरीको एएिएफ कलबले जितेको थियो ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।
त्यसै गरि उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले ट्रफीका साथमा जनही नगद रु २५ हजार ५५५ प्राप्त गर्नेछन् भने अन्य विद्यागत तर्फ हरेक खेलाडीले जनही नगद रु १० हजार ५५५ प्राप्त गर्नेछन् ।
