
पोखरा स्पोर्टस । चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’ मा गण्डकीबाट पुरुषतर्फ तीन र महिलातर्फ तीन विदेशी खेलाडीहरु समावेश हुने भए पछि अधिकाशं भलिबल प्रेमीहरु कौतुहलता छाएको छ ।
यहि माघ १ गतेबाट ६ गतेसम्म पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमासञ्चालन हुने टाइगर कप अन्तगर्त पुरुष टिममा तीन इरानी खेलाडीलाई निम्त्याइएको छ । आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप प्रतियोगिता भएका कारण टिमलाई दावेदार बनाउन तथा उपाधि रक्षाको समेत चुनौती रहे संगै विदेशी खेलाडी टिममा समावेश गरिएको संघले जनाएको छ ।
तीन इरानी खेलाडीहरुमा अमिराबास मोरादी, आभार मादी र माहदी जादमार्द रहेका छन् । इरानका यी तीनै जना खेलाडी इरानी सुपर लिग, युरोपियन कप, एसियन च्याम्पियनसिप, वर्ल्ड क्लव च्याम्पियनसिप खेलेको अनुभव छ ।
युरोप र इरानमा गरी विभिन्न क्लवमा आवद्ध यी खेलाडीहरुमा अमिरावास २६ वर्षका हुन् । करिव ६.३४ फिट अग्ला अमिरावास सेटरको भूमिकामा खेल्छन् । त्यस्तै २० वर्षिय आभार मादी समेत कुशल खेलाडीको रुपमा आफूलाई स्थापित गरेका छन् भने माहदी जादमार्द संग ५ वटा इरानी सुपर लिग खेलेको अनुभव छ । यसका अलवा उनले वर्ल्ड क्लव च्याम्पियनसिप, एसियन च्याम्पियनसिप समेत खेलेका छन् ।
यसै गरी गण्डकीको महिला टिमबाट समेत तीन भारतीय खेलाडी समावेश हुनेछन् । नेपाली राष्ट्रिय टोलीकी कप्तान समेत रहेकी अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिने गण्डकीको टोलीलाई बलियो बनाउन भारतिय खेलाडीहरु समावेश गरिएको आयोजकले जनाएको छ । महिलातर्फ नै चन्द्रागिरी नगर पालिका न्यू डायमण्ड स्पोर्टस क्लव, आयोजक गण्डकी प्रदेश संगै तीन विभागिय टोली नेपाल पुलिस, नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लवले सहभागिता जनाउने छन् ।
पुरुषतर्फ तीन विभागिय टोली नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउने छन् । प्रतियोगितामा सहभागि टिम हेल्प नेपालले तिन जना पाकिस्तानी खेलाडी भित्राएको छ भने अर्कोतर्फ श्रीलंकाको आर्मी टिम समेत सहभागि हुने छ ।
तेस्रो संस्करणको उपाधि पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ शसस्त्र प्रहरीको एएिएफ कलबले जितेको थियो ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।
त्यसै गरि उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले ट्रफीका साथमा जनही नगद रु २५ हजार ५५५ प्राप्त गर्नेछन् भने अन्य विद्यागत तर्फ हरेक खेलाडीले जनही नगद रु १० हजार ५५५ प्राप्त गर्नेछन् ।
