
पोखरा स्पोर्टस । चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’ को तयार तिव्र पारिएको छ ।
खेलकुद र सामाजिक क्षेत्रमा कृयाशिल संस्था टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १ देखि ६ गते सम्म पोखरा रंगशाला भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन हुने प्रतियोगिताको तयारी तिव्र पारिएको एक पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । प्रतियोगिता सम्पन्न गर्न अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा १ सय १ सदस्यिय मुल आयोजक समिति तथा संस्थाका सदस्य दिपक कार्कीको संयोजकत्वमा संगै ११ सदस्यिय उपसमिति गठन गरिएको छ ।
प्रतियोगिता सफल बनाउन देशविदेशमा रहेका सम्पूर्ण भलिबल प्रेमीहरुलाई सहयोगका लागि अध्यक्ष नारायण प्रसाद शर्माले आह्वान गरेका छन् । प्रतियोगितालाई भव्य सँगै मर्यादित रुपमा अघि बढाउन राजनितिकर्मी, स्थानीय तह, स्थानिय प्रशासन, सुरक्षाकर्मी, उद्योगी, व्यापारी, नागरिक समाज, बिभिन्न संघ–संस्था, खेलकुदका संघ–संस्थाहरुलाई आर्थिक, भौतिक एवं नैतिक सहयोगका आग्रह गरिएको छ ।
प्रतियोगितामा ६ महिला र ६ पुरुष गरी कुल १२ टिमको सहभागिता रहने टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष शर्माले जनाएका छन् । प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ ।
चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लव पोखरा आउने भएको छ । महिलातर्फ नै चन्द्रागिरी नगर पालिका न्यू डायमण्ड स्पोर्टस क्लव, आयोजक गण्डकी प्रदेश संगै तिन विभागिय टोली नेपाल पुलिस, नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लवले सहभागिता जनाउने छन् ।
त्यसै गरी पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक सहभागिता जनाउने भएको छ । प्रतियोगितामा सहभागि हेल्प नेपाल स्पोर्टस क्लवले समेत ३ जना पाकिस्तानी खेलाडी टिममा भित्राएको छ । आयोजक टिम गण्डकीले आफ्नो उपाधि रक्षाका लागि विदेशी खेलाडी भित्राउने तयारी गरिरहेको अध्यक्ष शर्माले जनाएका छन् । पुरुषतर्फ तिन विभागिय टोली नेपाली सेनाको त्रिभुवन क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लवले सहभागिता जनाउने छन् ।
‘चौथो टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिता २०८०’ को उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने अध्यक्ष शर्माले जानकारी दिए ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।
त्यसै गरि उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले ट्रफीका साथमा जनही नगद रु २५ हजार ५५५ प्राप्त गर्नेछन् भने अन्य विद्यागत तर्फ हरेक खेलाडीले जनही नगद रु १० हजार ५५५ प्राप्त गर्नेछन् ।
तेस्रो संस्करणको उपाधि पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ शसस्त्र प्रहरीको एएिएफ कलबले जितेका थिए ।
नेपाल भलिबल संघको स्विकृतीमा आयोजना हुने उक्त प्रतियोगितालाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, स्थानियतहका सरकारहरुलगायतको सहयोग र सहकार्य रहने छ ।
त्यसै गरी मणिपाल शिक्षण अस्पताल,चरक मेमोरियल हस्पिटल पोखरा,ग्रिन सिटी हस्पिटल काठमाण्डौं,रोड शो इन प्रा.ली अन्नपुर्ण केबुलकार, मनकामना केबुलकार, प्रभु बैंक, बतास अर्गनाईजेसन, माछापुच्छ्रे बैंक, मुक्तिनाथ बिकास बैंक, एक्सटेप, केल्मी नेपाललगायतको सहयोग रहने छ । हरेक खेलमा म्यान अफ दि म्याच वापत खेलाडीले केल्मी र एक्सटेपको टिशर्ट पाउनेछन भने दर्शकहरुले किनेको अर्धकट्टी टिकट छनौट गरि एक जनालाई केल्मीको टिशर्ट प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड रुपैया खर्च लाग्ने तथा प्रतियोगितालाई थप आकर्षण बनाउन र दर्शकलाई सहज ढंगले खेल हेर्न अवसर प्रदान गर्ने गरि यो वर्ष बढी क्षमताको प्याराफिट तथा स्टेज आकर्षक एवं भव्य रुपको तयार गरिन लागेको संस्थाले जनाएको छ । प्रतियोगितालाई प्रविधि मैत्री समेत बनाइने आयोजकले जनाएको छ ।
प्रतियोगिता सफल बनाउन देशविदेशमा रहेका सम्पूर्ण भलिबल प्रेमीहरुलाई सहयोगका लागि अध्यक्ष शर्माले आह्वान गरेका छन् । प्रतियोगितालाई भव्य सँगै मर्यादित रुपमा अघि बढाउन राजनितिकर्मी, स्थानीय तह, स्थानिय प्रशासन, सुरक्षाकर्मी, उद्योगी, व्यापारी, नागरिक समाज, बिभिन्न संघ–संस्था, खेलकुदका संघ–संस्थाहरुलाई आर्थिक, भौतिक एवं नैतिक सहयोगका आग्रह गरिएको छ ।
सम्पन्न पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, जिल्ला खेलकुदका अध्यक्ष तोरण बाँनिया, संस्थाका सचिव डिवी नेपाली, नेपाल भलिबल संघका केन्द्रिय सदस्य राजकुमार गुरुङ, नेपाल महिला भलिबल टिमकी कप्तान अरुणा शाही लगायतको सहभागिता रहेको थियो ।
