साफ यू–१९ र यू–१६ महिला फुटबल खेलाडीको छनौट पोखरामा हुने

पोखरा स्पोर्टस । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–१९ र यू–१६ महिला फुटबल च्याम्पियनसिपका लागि गण्डकी प्रदेशका खेलाडीहरुको छनौट पोखरामा हुने भएको छ ।

गण्डकी प्रदेश फुटबल संघको आयोजनामा यहि पौष १३ गते यू–१९ र पौष १७ गते यू–१६ महिला खेलाडीहरुको छनौट पोखरा रंगशालामा हुने भएको हो । संघले विभिन्न ९ जिल्लाका फुटबल संघहरुलाई पत्रचार गरी आ–आफ्ना जिल्लाका खेलाडीहरुलाई छनौटमा सहभागिताका लागि पत्रचार गरेको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप आगामी २०२४ फेव्रुअरी १ देखि ११ तारिख सम्म हुने छ भने साफ यू–१६ महिला फुटबल च्याम्पियनसिप आगामी २०२४ मार्च १ देखि ११ सम्म हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशैभरी खेलाडी छनौट प्रक्रिया अघि बढाए संगै गण्डकी प्रदेश फुटबल संघले समेत छनौट कार्यक्रम तय गरेको संघका महासचिव बिनोद गुरुङले पोखरा स्पोर्टलाई जानकारी दिए । 

गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका खेलाडीहरुलाई तोकिएको समय र दिनमा पोखरा आइपुग्न गुरुङले आग्रह गरेका छन् । “यो यूवा महिला खेलाडीहरुका लागि राम्रो अवसर हो” पोखरा स्पोर्टस संग कुरा गर्दै उनले भने–“गण्डकीमा महिला फुटबल खेलाडीहरुको विकास र उत्पादनमा समेत यो छनौट कार्यक्रमले सहयोग हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close