
पोखरा स्पोर्टस । सैनिक आवसीय मावि २१ वटा पदक जितेर पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा चौथो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता-२०८० को च्याम्पियन बनेको छ ।
तीन दिनसम्म चलेको प्रतियोगितामा ११ स्वर्ण, ३ रजत र ७ कास्यसहित सैनिक च्याम्पियन बनेको हो । सैनिकलाई मंगलबार समापन समारोहमा प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष धोजजकुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष तोरण बहादुर बानियाँ, महानगर खेलकुद विकाश समिति अध्यक्ष दीपक गोदारलगायतले रनिङ शिल्ड प्रदान गरे ।
कालिका मावि ५ स्वर्ण, ५ रजत र ७ कास्यसहित १७ पदक पाएर उपविजेता बनेको छ । ५ स्वर्ण, ३ रजत र १ कास्यसहित ९ पदक जितेर शहिद स्मृति मावि तृतीय भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । कालिका र शहिद स्मृति माविले ट्रफी प्राप्त गरे ।
टिम इभेन्टतर्फ छात्र भलिबलमा गुरुकुल मावि प्रथम, कालिका मावि द्वितीय र न्यू ग्यालेक्सी स्कुल तृतीय भएको आयोजकले जनाएको छ । भलिबल छात्रामा जनप्रिय मावि प्रथम, शान्त मावि द्वितीय र कन्या मावि तृतीय भएको खड्काले जानकारी दिए । भलिबलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमश २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।
छात्र कबड्डीमा बेथानी बोर्डिङ प्रथम, कालिका मावि वडा नं १० द्वितीय, अमरसिंह मावि र त्रिभुवन शान्ति मावि तृतीय भएका छन् । छात्रा कबड्डीमा रामेश्वरी मावि प्रथम, गौरीशंकर मावि द्वितीय, बेथानी मावि र कालिका मावि तृतीय भएको सदस्य सचिव खड्काले जानकारी दिए । कबड्डीमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमश १५ हजार, १० हजार र २,५२५ सय रुपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।
पोखराका १ सय १० विद्यालयका ३ हजार २०५ विद्यार्थी ६६, स्वर्ण, ६६ रजत र १०४ कास्य पदकका लागि प्रतिस्पर्धामा सहभागी थिए । भलिबल छात्र–छात्रा, कबड्डी छात्र–छात्रा, एथ्लेटिक्सअन्तर्गत ट्रयाक र रिले, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, मार्सल आर्टअन्तर्गत कराँते, तेक्वान्दो, उसुलगायत खेलहरु भएका थिए । यो प्रतियोगितामा उत्कृष्ट भएका खेलाडी छनोट गरेर १३ र १४ पुसमा हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा महानगरपालिकाको तर्फबाट सहभागी हुने सदस्य सचिव खड्काले जानकारी दिए ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष धोज कुमार गुरुङले समय–समयमा प्रतियोगिता गरेर महानगर खेलकुद विकास समितिले तल्लो तहमै खेलाडी उत्पादन गर्न भूमिका खेलेको भन्दै प्रशंसा गरे । उनले पोखरालाई खेलकुदको राजधानी बनाउन प्रतियोगिता भइरहनुपर्ने बताए ।
अहिले च्याम्पियन बनेको सैनिक आवासीय मावि गत वर्षको प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ११ कास्यसहित २० पदक जितेर उपविजेता बनेको थियो । यसपटक तृतीय बनेको शहिद स्मृति मावि ५ स्वर्ण, ४ रजत र ४ कास्यसहित १३ पदक पाएर अघिल्लो वर्ष पनि तृतीय भएको थियो ।
