
पोखरा स्पोर्टस । नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्वुले खेलाडीहरुको समस्याका बारेमा सरकार गम्भिर रहेको जनाएका छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजित राष्ट्रिय मुवाँथाई प्रतियोगिता ‘कन्टेन्डर सिरिज–१’ को सोमबार सम्पन्न समापन कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । “देशका लागि खेल्ने खेलाडीहरुको सम्मानका लागि राज्य गम्भिर छ”–मन्त्री लिम्बुले भने–“म सरकारको तर्फबाट सम्पूर्ण खेलाडीहरुलाई सम्मान गर्न चाहन्छु ।”

मन्त्री लिम्बुले खेलाडीहरुका समस्या संगै खेलाडीहरुको आवास सुविधाको लागि समेत व्यवस्थापनका लागि सरकारले आफ्नो तयारी अघि बढाएको जनाउँदै प्रशिक्षण अवधिमा आवास सुविधा नहुँदा राज्यले समेत ठूलो खर्च गर्नु परेको बताए । उनले आवास सुविधामा हुने खर्च खेलाडीहरुले पाउनु पर्ने बताउँदै यसले उनीहरुमा थप हौसला मिल्ने बताए ।
मन्त्री लिम्बुले सम्पूर्ण खेलाडीहरुलाई दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जुट्न आग्रह गर्दै आफूले हालै दशौं राष्ट्रिय प्रतियोगिताका लागि निर्माण जारी रहेका खेल पूर्वाधारहरुको निरिक्षण र अनुगमन गरेको बताए ।
ब्यवसायिक खेलकुद कार्यक्रमहरुले खेलाडीहरुमा हौसला बढ्ने र उनीहरुको खेल क्षमतामा समेत उत्तिकै प्रभावकारी हुने भएकोले मुवाँथाई लगायत अन्य प्रतियोगिताहरुको आयोजनाका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
सो अवसरमा आफ्ना धारणा राख्दै गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंम्खडाले मुवाँथाई राष्ट्रिय प्रतियोगिताले गण्डकी प्रदेशको खेलकुद विकासका लागि एक महत्वपूर्ण सन्देश दिएको बताउँदै खेलाडीहरुले यस्ता कार्यक्रम मार्फत थप हौसला मिल्ने बताइन् । उनले प्रदेश सरकारले यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिने गरि योजनाहरु अघि बढाउने बताइन् । खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरी सबैको मन जित्न सफल भएकोमा उनले बधाई समेत दिइन् । उनले भनिन–“यहाँहरुले हाम्रो मन जित्नु भएको छ । अर्को वर्ष यो प्रतियोगितालाई अझै भव्य रुपमा गर्छौं ।”
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना सम्पन्न उक्त प्रतियोगितामा विभिन्न क्लवका ३२ खेलाडीहरुको सहभागिता रहेको थियो । ‘वान फाइट सिष्टम’मा आधारित उक्त प्रतियोगिता पहिलो पटक पोखरामा आयोजना भएको हो । पोखराको पर्यटकिय क्षेत्र फेवातालको किनारमा आयोजना भएको उक्त प्रतियोगिता अवलोकन गर्न स्थानिय संगै विदेशीहरुको समेत ठूलो संख्यामा दर्शकहरु उपस्थित रहेका थिए । विजेता तथा उपविजेता खेलाडीहरुलाई नगद, मेडल तथा प्रमाणसहित सम्मान गरिएको थियो ।
