
पोखरा स्पोर्टस । पोखरा महानगर पालिका राष्ट्रपति रनिङ शिल्ड तथा चौथो महानगर विद्यालयस्तरिय खेलकुद प्रतियोगिता २०८० आइतबारबाट पोखरा रंगशालामा सुरु भएको छ ।
तिन दिन सम्म सञ्चालन हुने उक्त प्रतियोगिताको एक कार्यक्रमका विच पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन् । सो अवसरमा प्रमुख आचार्यले सबैलाई एकठाउँमा उभ्याउने शक्ति नै खेलकुद क्षेत्र रहेको बताए । अन्तर्राष्ट्रियस्तरमा आफ्नो देशको पहिचान स्थापित गर्न खेलकुद भूमिका रहेको बताउँदै उनले भने–“देश र समाजलाई एकिकृत गर्ने संगै सवल स्वास्थ्यका समेत खेलकुद उत्तिकै महत्वपूर्ण छ ।”
नेपाली समाज अन्य सबै कुरामा विभाजित भएपनि खेलमा त्यस्तो नभएको प्रमुख आचार्यले बताए । खेलकुदले नेपाली समाजलाई एकताबद्ध बनाइराखेको उनको भनाइ थियो । “नेपाली समाज अन्य सबै कुरामा विभाजित भएपनि खेलकुदमा विभाजित छैन । जब हामी अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रदेश पालिकादेखि वडाका पनि केहीमा विजेता बन्छौं बधाई दिन समाज एकठाउँ हुन्छ,” उनले भने, “त्यसैले खेलकुदले समाजलाई एकताबद्ध गर्छ ।”
विद्यालयस्तरिय प्रतियोगितानै भोलीका राष्ट्रिय खेलाडी उत्पादन हुने मत्वपूर्ण थलो रहेको जनाउँदै प्रतियोगितामा विभिन्न विद्यालयका ३ हजार २ सय विद्यार्थीहरु सहभागि रहेको उनले बताए ।




कार्यक्रमलाई सम्वोधन गर्दै पोखरा महानगर पालिकाका उपप्रमुख मञ्जु देवी गुरुङले विद्यार्थीहरुको सर्वाङ्गिक विकासका लागि प्रतियोगिता महत्वपूर्ण रहेको बताइन् । उनले सहभागि खेलाडीहरुलाई आफ्नो क्षमता प्रदर्शन गर्न र उत्कृष्ट नतिजा ल्याउन आग्रह गरिन् । “पोखरा तालै तालको शहर मात्रै होइन अव खेलकुदको शहरको रुपमा स्थापित हुने छ”–उनले भनिन्–“पोखरालाई खेलाडीहरुको शहरको रुपमा पहिचान बनाउँदै पर्यटकिय शहरको रुपमा अघि बढाउन समेत यसले सहयोग गर्नेछ ।”
सो अवसरमा महानगरका शिक्षा महाशाखा प्रमुख एवं निमित्त कार्यकारी प्रमुख हेम प्रसाद आचार्यले प्रतियोगिताले विद्यार्थीहरु भित्र अन्तर्निहित क्षमता प्रस्फुटन गर्न सहयोग पुग्ने बताए ।
पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता अन्तर्गत भलिबल छात्र–छात्रा, कबड्डी छात्र–छात्रा, एथ्लेटिक्सअन्तर्गत ट्रयाक र रिले, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, मार्सल आर्ट अन्तर्गत कराँते, तेक्वान्दो, उसुलगायत खेल सुरु भएका छन् ।
भलिबलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ, कबड्डीमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित पदक र प्रमाणपत्र पाउने समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिएका छन् । छात्र र छात्रा दुवैतर्फका विजेतालाई समान पुरस्कार प्रदान गरिने छ ।
एथ्लेटिक्स छात्र–छात्रामा ११ जनाले ३–३ हजार, त्यसपछिका ११ जनाले २–२ हजार र बाँकी ११ जनाले १–१ हजार पाउने छन् । कराते, उसु र मार्सल आर्टमा १२ जनाले ३–३ हजार, त्यसपछिका १२ जनाले २–२ हजार र बाँकी १२ जनाले १–१ हजार पाउने छन् । अन्य विधाका खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न कुल २३ लाख रुपैयाँ खर्च हुने समितिले जनाएको छ ।
गण्डकी आवसीय मावि मार्च पासमा उत्कृष्ट
प्रतियोगिताको उद्घाटन समारोहमा मार्च पास भएको थियो । गण्डकी आवसीय मावि मार्च पासमा प्रथम, सैनिक आवसीय मावि द्वितीय र कास्की मोडनाइज्ड एकेडेमी तृतीय भएको समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । द्वितीय र तृतीय हुनेले क्रमशः ९ र ५ हजार रूपैयाँ पाए । मार्च पासमा पोखराका ४५ विद्यालय सहभागी थिए ।
छात्र ३ हजार मिटरमा कुमिदिनी होम्सका कृष्णबहादुर परियार च्याम्पियन बने । छोरेपाटन माविका तेन्जोन रोका मगर द्वितीय र भद्रकाली माविका एमबहादुर गुरूङ तृतीय भए । छात्रातर्फ कालिका माविकी स्वीकृति कार्की प्रथम, छोरेपाटन माविकी नारायणी भण्डारी द्वितीय र गौरीशंकर माविकी कविता मगर तृतीय भएको खड्काले जानकारी दिए । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३, २ र १ हजार रूपैयाँसहित मेडल पुरस्कार पाएका छन् ।
पहिलो दिन भलिबल र कबड्डीको प्रारम्भिक चरणका खेल पनि भएको आयोजकले जनाएको छ । आइतबार भएको छात्र भलिबलतर्फ पोल ‘ए’ बाट रत्न शोभा मावि, ब्रह्म रूपमा मावि, विन्देश्वरी मावि, गौरीशंकर मावि, बाल मन्दिर मावि, सिद्ध बराह मावि, अमरसिंह मावि, गुरुकुल मावि, सृजना बोर्डिङ दोस्रो चरणमा प्रवेश गरेको पोखरा महानगरपालिका भलिबल संघ अध्यक्ष रामबहादुर लामिछानेले जानकारी दिए । पोल ‘बी’ बाट शान्त मावि, भद्रकाली मावि, जनप्रकाश मावि, न्यू ग्यालेक्सी, स्पाइरल ग्यालेक्सी, सिद्धार्थ लबडेल, कालिका मावि, रत्न राज्य मावि दोस्रो चरणमा प्रवेश गरेका छन् । छात्रातर्फ पोल ‘ए’को शान्त मावि, टप्स मावि, इन्द्रराज्य लक्ष्मी मावि, कन्या मावि, सृजना मावि र पोल ‘बी’ बाट जनप्रिय मावि, श्री कृष्ण मावि, नेसनल क्रिएसन अर्को चरणमा पुगेको लामिछानेले बताए ।
कबड्डी छात्रतर्फ श्रीकृष्ण मावि, सहिद स्मृति मावि, रामेश्वरी मावि, भवानी कालिका मावि, शान्ति मावि, ज्ञानसागर मावि, सरस्वती टीका मावि, त्रिभुवन शान्ति मावि र अमरसिंह मावि दोस्रो चरणमा प्रवेश गरेका छन् । छात्रातर्फ सरस्वती टीका मावि, जनप्रकाश मावि, विन्ध्वेश्वरी मावि, विन्ध्यावासिनी मावि, सहिद स्मृति मावि, अमरसिंह मावि, श्रीकृष्ण मावि, बेथानी मावि दोस्रो चरणमा प्रवेश गरेको आयोजकले जनाएको छ ।
