
पोखरा स्पोर्टस । २३ औं आहा ! रारा पोखरा गोल्डकपका लागि खेलाडी छनौट प्रक्रिया सुरु भएको छ ।
सहारा क्लव पोखराले यहि माघको दोश्रो साता पोखरामा हुने उक्त प्रतियोगिताका लागि खेलाडी छनौट प्रक्रिया सुरु गरेको जनाएको हो । मोफलसलकै वृहद् तथा निरन्तर आयोजना हुनेमा इतिहास समेत रचेको आहा ! रारा पोखरा गोल्डकपका लागि प्रारम्भिक चरणमा ३२ जना खेलाडीहरु छनौटका लागि आएको आयोजक टिम तयारी समितिका संयोजक विरभद्र आचार्यले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् । छनौटको पहिलो दिन ३२ जना आए पनि यो क्रम भने एक साता सम्म जारी रहने संयोजक आचार्यले जनाएका छन् । “यो छनौट सबैका लागि खुल्ला छ । जो कोही आए पनि हामी खेलाडी भित्र रहेको प्रतिभालाई सम्मान गर्न तयार छौं”,उनले भने ।
क्लवका पूर्व अध्यक्ष समेत रहेका आचार्यले एन्फामा आवद्ध क्लवका खेलाडी संगै गण्डकी प्रदेशका नवप्रतिभावान खेलाडीलाई बढि भन्दा बढि खेलाडी समेटेर टिमको घोषणा गर्ने तयारी गरिरहेको उनले बताए । “हामी नव प्रतिभावान खेलाडीहरुको खोजिमा छौं । यो एउटा अवसर समेत हो । हामी सबैलाई आहा रारा पोखरा गोल्डकपमा जोडिन आह्वान समेत गर्छु”, उनले भने–“हामी सबै मिलेर एक सवल र सक्षम टिम बनाऔं । जसले राष्ट्रियस्तरमा समेत एक्सपोजर प्राप्त गर्न सकोस ।”
यो अवसर सबैका लागि खुल्ला भएको जनाउँदै संयोजक आचार्यले विगतमा आहा! रारा पोखरा गोल्डकपमा जोडिएका अधिकांश खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलमा उत्कृष्ट प्रभाव छोड्न सफल भएको जनाउँदै विगतको सहारा क्लवको स्तरलाई अझै माथि उठाउने गरी टिम तयारीमा जुटेको उनले बताए । २२ औं संस्करण सम्म सहारा क्लव एक पटक बिजेता र दुई पटक उपविजेता बनेको इतिहास छ । ११ औं र १५ औं उपविजेता बनेको सहारा १२ औं मा उपाधि बिजेता बनेको थियो । यसका साथ–साथै सहारा क्लव धेरै पटक अन्तिम चारमा पुगेर निराश बनेको पनि छ ।
“हाम्रो चाहना खेलाडी उत्पादन संगै प्रशिक्षकहरु पनि उत्पादन हुनु पर्छ भन्ने मान्यतामा छौं”, संयोजक आचार्यले भने–“हामी संग आवद्ध खेलाडीहरुलाई कम्तिमा पनि प्रशिक्षकको सि लाइसेन्स कोर्ष गर्न प्रोत्साहित गरेका छौं । जसका कारण स्थानियस्तरमा एक उत्कृष्ट खेलाडी उत्पादन हुनेछ ।”
बिहिबारबाट सुरु भएको छनौट प्रक्रियामा राष्ट्रिय टिमको प्रशिक्षण समेत सम्हालिसकेका किरण श्रेष्ठको संयोजकत्वमा टेक्निकल टिम गठन गरिएको छ । जसको सदस्यमा प्रल्हाद हिराचन, विष्णु केसी, सन्तोष केसी ‘बावु’ सुनिल राना मगर रहेका छन् । विष्णु केसी सहाराले १२ औं सस्करणमा ट्रफी उचाल्दा कप्तानको भूमिकामा थिए भने सन्तोष टिमको सदस्य थिए । सुनिल सहाराकै उत्पादित खेलाडी हुन् । प्रल्हाद हिराचन सहारा क्लव संग आवद्ध पूर्व खेलाडी हुन् । टेक्निकल टिमको सल्लाहाकारमा पूर्व प्रशिक्षक शम्भु केसी रहेका छन् ।
कठिन तथा विपन्न परिस्थितीका बालकहरु आश्रित सहारा एकेडेमीको सञ्चालनका लागि सहारा क्लव पोखराले आहा रारा पोखरा गोल्डकप आयोजना गर्दै आएको छ । विश्वमा महामारीको फैलिएको कोभिड १९ को समय होस वा देशमा राजनितिक द्वन्दको चपेटमा समेत प्रतियोगिताले निरन्तरता पाइरहेको छ ।
