मञ्चद्वारा आजिवन सदस्यहरुसँग अन्तरक्रिया, पोखरा म्याराथनमा थपियो भेट्रान्स दौड

पोखरा म्याराथनलाई पोखरेलीहरुले पर्वको रुपमा मनाउनु पर्छ–मेयर आचार्य

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आफ्ना आजिवन सदस्यहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले सामाजिक कृयाकलापका गतिविधि, १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी र दिवंगत भएका सदस्यहरुको सम्झना गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

शुक्रबार पोखरामा सम्पन्न भएको उक्त अन्तरक्रियामा सहभागिहरुले नेपालकै जेठो र सर्वाधिक पुरस्कार राशीको पोखरा म्याराथनलाई थपस्तरीय बनाउनका लागि जोड दिएका छन् । सहभागिहरुले मञ्चका लागि सँधै सहयोग गर्न तयार रहेको र आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गरिरहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा आफ्ना भनाई राख्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अन्तर्राष्ट्रिय म्याराथनका लागि आफुहरुले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा म्याराथन खेलकुदको मात्रै कार्यक्रम नभएको जनाउँदै यसलाई खेलकुद पर्वको रुपमा मनाउनुपर्नेमा उनले जोड दिए । पोखरा म्याराथनले खेलकुदको विकास संगै समग्र पोखराको पर्यटन र आर्थिक समृद्धिको पाटोमा समेत सहयोग पुगेको उनको भनाई थियो । पोखरा महानगर म्याराथन सँग जोडिएको जनाउँदै यसलाई व्यवस्थित र स्तरीय बनाउनका लागि छलफल गरि अघि बढ्ने उनको भनाई थियो ।

सो अवसरमा मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले आफ्नो प्रत्यक्ष खेल जिवन पश्चात उनीहरुको अनुभव मर्न नदिनका लागि मञ्चको स्थापना भएको बताउँदै खेलकुदको विकाससँगै हाल रहेको पोखरा रंगशालालाई अतिक्रमणको चपेटाबाट बचाउने काम समेत मञ्चले नै गरेको उनले सुनाए । मञ्चले आयोजना गर्ने अन्तर्राष्ट्रिय म्याराथन प्रविधीमैत्री हुँदै जाँदा थप चुनौतीहरु बढेको सुनाउँदै मञ्चका लागि योगदान दिने दिवंगत भएका सदस्यहरुलाई समेत सम्झिए ।

कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तेज गुरुङले मञ्चको उद्धेश्य, लक्ष्य, पोखरा म्याराथनको समग्र प्रस्तुतीकरण संगै दिवंगत भएका मञ्चका सदस्यहरुको बारेमा तथा उनीहरुले खेलकुदका लागि योगदानका बारेमा चर्चा गरे । पोखरा म्याराथन नेपालकै जेठो रहेको र पछिल्लो समय एम्स र वर्ल्ड म्याराथनसँग जोडिएपछि विश्वमा नै थप चर्चा पाएको उनले बताए । हाल २६३ आजिवन सदस्य रहेको मञ्चमा ३२ जना सदस्यहरु दिवगंत भइसकेको उनले जानकारी दिए ।

दिवंगत भएकाहरुले खेलकुद र समाजका लागि गरेको योगदान अविस्मरणीय रहेको बताउँदै नेपाल ओलम्पिक कमिटीका उपाध्यक्षसमेत रहेका गुरुङले म्याराथनलाई थप सुरक्षित बनाउन प्रविधि मैत्री बनाउने गरी तयारी भइरहेको र खेलाडी दर्ता देखी धावकले प्रमाणपत्र सम्म अनलाइनमै पाउने व्यवस्थाको तयारी गरेको सुनाए ।

कृषि विकास बैंकका निर्देशक घनेन्द्र अधिकारीले अब सफल म्याराथनका लागि आयोजकले हरेक वर्ष सहयोग माग्नुभन्दा अलि जोड गरेर वार्षिक कार्यक्रममा पार्नका लागि पहल गर्नुपर्ने बताए । उनले कृषि विकास बैंकले सह–प्रायोजकको भूमिका निर्वाह गर्दा आगामी दिनमा मुख्य प्रायोजककै रुपमा रहन सक्ने समेत सुनाए । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितासँग जोडिन पाउनु खुसीको कुरा रहेको र बैंकको तर्फबाट वार्षिक कार्यक्रम अन्तर्गत पार्नका लागि आफुले पनि केन्द्रमा कुरा राख्ने उनको भनाई छ ।

अन्तरक्रियामा सहभागि भएका सहारा क्लब पोखराका पुर्वअध्यक्ष एवं मञ्चका आजिवन सदस्य विक्रम थकालीले आर्थिक रुपमा सबल हुँदै थप खर्च गरेर म्याराथनलाई स्तरीय बनाउन सुझाव दिए । अर्का आजिवन सदस्य उत्तम जोशीले म्याराथनलाई थप प्रभावकारी बनाउन विभिन्न सहयोगी संघ संस्था, क्लब, आमा समूहलाई समेत उचित तरिकाले समेट्नुपर्नेमा जोड दिए । मञ्चका सल्लाहकार जगन गुरुङले मञ्चमा आबद्ध सदस्यमध्ये दिवगंत भएमा परिवारका सदस्यहरुलाई मानार्थ सदस्य प्रदानका लागि पहल गर्न अनुरोध गरे ।

मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले मञ्चलाई थप बलियो बनाउने काम आजिवन सदस्य र खेलाडीहरुको रहेको सुनाउँदै म्याराथनलाई सफल बनाउन सबै ठाउँबाट सहयोग गरिदिन आग्रह गरे ।

पोखरा म्याराथनका मुख्य संयोजक दिलबहादुर गुरुङले अन्तरक्रिया कार्यक्रमले २२ वर्षअघिको मञ्चको झल्को दिएको सुनाए । उनले मञ्चको स्थापनाकालदेखिका सदस्यहरुलाई समेत देख्न पाउँदा खुसी लागेको र अब मञ्चमा अग्रज खेलाडीमात्र नभई युवा खेलाडीलाई समेत समेट्न आवश्यक रहेको सुनाए ।

सो अवसरमा मञ्चमा नयाँ आजिवन सदस्य प्राप्त विभिन्न खेल तथा समाजिक क्षेत्रका व्यक्तित्वहरुलाई सदस्यताको प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

पोखरा म्याराथन आगामी फागुन ५ गते शनिबार आयोजना हुनेछ । म्याराथनमा पुरुषतर्फ ४२.१९५ किलोमिटर, महिला हाफ म्याराथन (२१ किलोमिटर), १० किलोमिटर, छात्र÷छात्रा ५ किलोमिटर, ह्विलचियर, दृष्टिविहिन, भेट्रान्स दौड र रन फर फनको आयोजना हुनेछ । यस वर्ष बाट ५० वर्ष माथिको महिला तथा पुरुष भेट्रान्स दौड थपिएको मञ्चले जनाएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक वुद्धिराज गुरुङ, शसस्त्र प्रहरी मुक्तिनाथ बाहिनी प्रहरी नायव महानिरिक्षक कालिदास धौभजी, कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक मोहन कुमार थापा, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीलगायत विशिष्ट महानुभावहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close