
पोखरा स्पोर्टस । अग्रज समाजसेवी कर्णेल जेपी क्रसको नाममा स्थापित अन्तरविद्यालय छात्र/छात्रा बास्केटबल प्रतियोगिता यहि मंसिर २९ गते बाट सुरु हुने भएको छ ।
कास्की जिल्ला बास्केटबल संघको आयोजनामा पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा १८ औं संस्करण कर्णेल जेपी क्रस अन्तरविद्यालय छात्र/छात्रा बास्केटबल प्रतियोगिता हुने भएको हो । पौष २ गते चार दिन सम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न विद्यालयमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरि प्रतियोगिता आयोजना गरिएको कास्की बास्केटबल संघका अध्यक्ष कृष्ण गुरुङले जनाएका छन् ।
विश्वभर फैलिएको कोभिड १९ को सक्रमणको तिन वर्ष पछि उक्त प्रतियोगिताले निरन्तरता पाउन लागेको अध्यक्ष गुरुङले जानकारी दिंदै यस अघि २६ गते सुरु हुने भनिएपनि प्राविधिक कारणले प्रतियोगिता मंसिर २९ का लागि सारिएको उनले जनाए । प्रतियोगितामा सहभागिताका लागि मंसिर २७ सम्म टिम दर्ता गर्न सकिने संघले जनाएको छ ।
प्रतियोगितामा छात्र/छात्रा दुबैतर्फको उपाधि विजेताले नगद २०/२० हजार र उपविजेताले नगद रु १५/१५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने प्रतियोगिताको बेस्ट प्लेयर र हाइस्कोररलाई विशेष आकर्षक पुरस्कार रहेको गुरुङले पोखरा स्पोर्टसलाई बताए ।
मंसिर २९ गते हुने उद्घाटनका अवसरमा समाजसेवी कर्णेल जेपी क्रसको १०० वर्ष पुरा भएको अवसरमा विशेष कार्यक्रमका विच कास्की बास्केटबल संघले केक समेत काट्ने तयारी गरेको छ ।
